बजारबाट किन हराउँदै छन् साना आकारका फोन ?

काठमाडौं । सानो आकारको फोन प्रयोग गर्न रुचाउने प्रयोगकर्ताका लागि पछिल्लो दुई वर्ष खासै उत्साहजनक रहेन । ६ इन्च वा सोभन्दा ठूला स्क्रिन भएका फाेन निरन्तर सार्वजनिक भइरहेकाे छ ।

साना आकारका स्मार्टफोनको निर्माण संख्या नै कम हुँदै गइरहेको छ । अनि यो प्रवृत्ति जारी रहने देखिन्छ ।

यो वर्ष सार्वजनिक केही सानो फोन सार्वजनिक भएपनि अब यसमा निरन्तरता नहुने देखिन्छ । आईफोन एसई गत महिना मात्रै सार्वजनिक भएको हो । यद्यपि अब एप्पलले ४.७ इन्चको फोन उत्पादन गर्ने बताएको छ ।

एनालिस्ट मिङ-चि कुओले एक कराेडकाे हारहारीमा आईफोन एसई बिक्री हुने अनुमान गरेका थिए । तर पछि उनले आफैं आफ्नो अनुमान फिर्ता लिएका थिए ।

त्यस्तै अर्का समीक्षक जोन डोनोभानले एप्पलले आईफोन एसईको आपूर्ति घटाउने तयारी गरिरहेको सूचना बाहिर ल्याएका थिए ।

अर्का समीक्षक अभि ग्रिनगार्टले भने आजका प्रयोगकर्ताले सानो डिस्प्लेभन्दा ठूलो डिस्प्ले नै मनपराउने गरेका बताएका थिए । ६ इन्चभन्दा सानो डिस्प्ले भएको स्मार्टफोन सार्वजनिक गर्ने मोबाइल कम्पनीहरूमा एप्पल पनि एक हो ।

आईफोन एसई बाहेक एप्पलले आईफोन १३ मिनी र आईफोन १२ मिनी पनि सार्वजनिक गरेको थियो । यी दुवै फोनमा ५.४ इन्चको डिस्प्ले उपलब्ध छ ।

यद्यपि व्यावसायिक हिसाबले हेर्दा आईफोन १३ र आईफोन १३ प्रो मोडेलका फोनहरूको रेकर्ड राम्रो छ । बजारमा हाल ठूला कम्पनीका सानो डिस्प्ले भएको फोन पाउन मुश्किल नै छ ।

गुगलले पनि ५.८ इन्चको डिस्प्ले भएको पिक्सेल ५ए फोन सार्वजनिक गरेपछि गत वर्षको यही सिरिजको फोनमा कम्पनीले ६.३ इन्चको डिस्प्ले उपलब्ध गराएको थियो ।

यो वर्ष सार्वजनिक हुने भनिएको पिक्सेल ६ए मा पनि ६ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै यही वर्ष सार्वजनिक भएको सामसङको ग्यालेक्सी एस २२ सिरिजका तीनवटै मोडेलमा ६ इन्चभन्दा माथिको डिस्प्ले उपलब्ध गराइएको छ ।

त्यस्तै ग्यालेक्सी एस२१ एफईमा ६.४ इन्चको स्क्रिन उपलब्ध छ ।

यदि आईफोन को विषयमा बाहिरिएका सूचना साँचो हुन् भने यो सिरिजमा एप्पलले मिनी भर्सन निर्माण गर्नेछैन । यो सिरिजमा ६.१ इन्चको आईफोन १४ र आईफोन १४ प्लस, ६.७ इन्चको आईफोन १४ म्याक्स मात्र सार्वजनिक हुने अनुमान गरिएको छ ।

वास्तवमा भन्ने हो भने स्टिभ जब्सले सन् २००७ मा भने जस्तै आजको दिनमा स्मार्टफोन खल्तीमा बोक्न सकिने कम्प्युटर जस्तै भएको छ ।

आजका स्मार्टफोनमा शक्तिशाली प्रोसेसरहरू प्रयोग गरिएको हुन्छ । साथै मानिसको दैनिक जीवनलाई सहज बनाउनका लागि आवश्यक विभिन्न एप उपलब्ध हुन्छन् ।

सञ्चारका लागि विभिन्न आकर्षक फिचर सहित मेसेजिङ एपहरू पनि उपलब्ध हुन्छ । अनि यी सबै फिचरहरू उपयुक्त रुपमा प्रयोग गर्नको लागि ठूलो स्क्रिन भएको स्मार्टफोनले प्रयोगकर्तालाई राम्रो अनुभव दिन्छ ।

अर्कोतिर आजभोलि सामान्य बजेट फोनमा पनि फुल एचडी रेजाेलुसनको स्क्रिन हुने गर्छ । यसर्थ राम्रो ग्राफिक्स, फोटो तथा भिडिओ हेर्नको लागि पनि ठूलो स्क्रिनको आवश्यकता पर्छ ।

साथै हाम्रो दैनिक जीवनमा स्मार्टफोनको महत्त्व यति धेरै छ कि, हामी आफ्नो मोबाइलबिना बस्न सक्दैनौं । मोबाइलको चार्ज दिनभर टिक्नको लागि कम्तिमा राम्रो ब्याट्रीको आवश्यकता हुन्छ ।

यसका लागि ब्याट्रीको आकार पनि ठूलो हुनुपर्छ । जति फोनको आकार ठूलो हुन्छ, त्यति नै ठूलो ब्याट्री प्रयोग गर्न सकिन्छ ।

यसरी प्रयोगकर्ताहरुको चाहना र डिभाइसको गुणस्तरका लागि पनि सानो डिस्प्ले भएको स्मार्टफोन आजको दिनमा खासै उपयुक्त देखिँदैन । यसैले पनि अब विस्तारै सानो स्क्रिन भएको फोनको दिन सकिँदैछ भन्दा केही फरक नपर्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.