भक्तपुरका तीन पोल्ट्री फार्ममा भेटियो बर्ड फ्लु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अवस्थित तीन पोल्ट्री फार्मका कुखुरामा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लु भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।

ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखापरेको हो ।

बर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्ड फ्लु भेटिएका फार्मका पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक वडा नम्बर १० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्यांकी जाने बाटोको चार किल्लाभित्रका पक्षी तथा पक्षीजन्य वस्तु, दाना, सुली, अन्डालगायत नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले बताए ।

समितिले भक्तपुरलगायत काठमाडौं उपत्यका भित्रिने नाकाका साथै स्थानीय स्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पक्षी, पक्षीजन्य वस्तु ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.