वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर बनाउने प्रतिबद्धता

वालिङ – स्याङ्जाको वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि १० बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा पत्रकारको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले १० बुँदे प्रतिबद्धता जारी गरेको हो ।

सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले सुर्तीजन्य पदार्थ सेवन छाड्ने प्रतिज्ञा गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

नगरका सम्पूर्ण सार्वजनिक संस्थामा सुर्तीजन्य पदार्थ निषेध गर्ने, इजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाउने व्यवस्था मिलाउने, लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिनेलगायत कार्यक्रम रहेका
छन् ।

त्यस्तै, जनसमुदाय तथा सरोकारवाला (आमा समूह, शिक्षक, पत्रकार, युवा क्लब, टोल विकास संस्था) सँग सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन, २०७८ अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन गर्ने र वालिङलाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उनले जानकारी दिए ।

‘सुर्तीजन्य पदार्थ सेवन लत हो, जुन हामीले जान्दाजान्दै पनि पैसा तिरेर रोग किनिरहेका छौँ’, उनले भने, ‘झट्ट हेर्दा यसको नियन्त्रण जटिल देखिन्छ तर सबैको सहयोग र सहकार्यबाट सम्भव छ ।’ संघले कानुन बनाएको र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने भएकाले पनि नगरपालिका यसको नियन्त्रण र नियमनलाई कडाइसाथ कार्यान्वयनमा अगाडि बढ्ने उनको भनाइ छ ।

‘यसलाई जबर्जस्ती भन्दा पनि परामर्श र सचेतनामार्फत विस्तारै नियन्त्रण गर्दै जानेछौँ’, उनले भने, ‘आगामी केही वर्षपछि मापदण्ड पूरा गर्दै वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर घोषणा गर्नेछौँ ।’

सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि २०६८ मा ऐन, नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकामा अभियानको रूपमा छलफल कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए ।

‘सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि मन्त्रालयबाट मात्रै नसकिने र अन्य विभिन्न संघ–संस्था, कार्यालय तथा निकायसँगको सहकार्यबाट मात्रै अगाडि बढ्दा बढी प्रभावकारी हुन्छ’, निर्देशक शर्माले भने, ‘नगरपालिकाले जुन प्रतिबद्धता जनाएको छ, यसबाट थप उत्साह तथा ऊर्जा मिलेको छ, जसले भावी दिनमा उपलब्धि हासिल हुनेमा विश्वस्त छौँ ।”

सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि ऐन, नियम आए पनि कार्यान्वयन पक्षमा देखिएका कमी–कमजोरीलाई हटाउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष कृष्णराज सिग्देल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.