टेस्लाका मालिक इलन मस्कले ट्विटर किने !

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले संसारभरिका नेता, सेलेब्रिटी र इन्फ्लुएन्सरहरूले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल, ट्विटर किन्नका लागि सम्झौता गरेका छन् । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किन्ने भएका हुन् ।

हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्विटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ । आफूलाई वाक्स्वतन्त्रताको कडा पक्षधर बताउने मस्कले ट्विटरको सम्पूर्ण सामर्थ्य उजागर हुन बाँकी रहेको बताउँदै आएका थिए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा ट्विटरका विधान खुकुलो पार्ने अनुमान गरिएको छ ।

टेस्ला र स्पेस एक्सका मालिकले अनलाइन प्लाटफर्महरूमा अत्यधिक संयमता (एक्सेसिभ मोडरेसन) अपनाइने गरेको भन्दै त्यसको आलोचना गर्ने गरेका थिए । ट्विटर किन्नलाई उनले दर्ताको गरेको प्रस्ताव–पत्रमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो र ट्विटर भनेको यस्तो डिजिटल डबली (चोक) हो, जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण विषयमा बहस हुन्छ ।’

मस्कका अनुसार सामाजिक सञ्जालहरूले आपत्तीजनक नै भए पनि कानुनी रूपमा गलत नहुने कमेन्टहरू हटाउनु हुँदैन । ट्विटरले हाल उत्पीडन, दुर्व्यवहार र कसैलाई शारीरिक हानि गर्ने आशयका पोस्ट हटाउने गरेको छ । कोभिड–१९ सम्बन्धी गलत जानकारीमा पनि ट्विटरले प्रतिबन्ध लगाउने गरेको छ । मस्कले ट्विटरका यस्तै प्रावधान खुकुलो पार्लान् भनेर सामाजिक सञ्जाल विज्ञहरू चिन्ता व्यक्त गरिरहेका छन् । उत्पीडक, ट्रोल र दुर्व्यवहार गर्नेहरूलाई यसले सघाउने तिनको भनाइ छ ।

फेसबुक, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा झैं ट्विटरमा पनि एडिट बटन बनाउने विषयमा मस्क सकारात्मक छन् । प्रयोगकर्तालाई तिनको ट्वीट परिवर्तन गर्न दिने विषयमा मस्कले समर्थन जनाएपछि यसबारे ठूलो बहस भइरहेको छ । ट्वीट एडिट गर्ने सुविधा दिँदा खराब मानिसहरूले हिंसा र दुर्व्यवहार मेटाएर ‘त्यो कहिले भएको/भनिएकै थिएन’ भन्नसक्ने विज्ञहरूले बताउने गरेका छन् ।

ट्विटरको अल्गोरिदम (कम्प्युटर कोड) जिट हबमा राख्ने विषयमा पनि मस्क सराकारात्मक छन् । मान्छेहरूले के देख्छन्, के सुन्छ वा यसमा कन्टेन्टहरू कसरी व्यापक रूपमा फैलिन्छन् भनेर निर्धारण गर्ने ट्विटर जस्तो सफ्टवेयरको प्रोग्रामिङ ल्यांल्वेज (कोड) सबैले देख्ने गरी खुला गरिनुपर्ने मस्कको राय छ । कतिले यसलाई पारदर्शी हुनु राम्रै हो भनिरहेका छन् भने कतिले ट्विटरको घना र जटिल अल्गोरिदम जनतामाझ साझा गर्दा खासै केही उपलब्धि हासिल नहुने बताइरहेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार मस्कले अब ट्विटरका बट एकाउन्ट हटाउनुका साथै विज्ञापनहरूमा पनि कटौती गर्नेछन् । हाल ट्विटरले आफ्नो ९० प्रतिशत आम्दानी विज्ञापनबाट प्राप्त गर्ने गरेको छ । कम्पनी निजीकरण हुने भएपछि विज्ञापनबाट आउने आम्दानी बढाउन अब कुनै शेयरधनीबाट दबाब हुने छैन । मस्कले ट्विटर सब्स्क्रिप्सन मोडल (ग्राहक बनाउने) मा जाने धारणा राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.