‘ई–कविता’ नयाँ साहित्यिक प्लेटफर्म

काठमाडौं । प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामका लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । नेपालयले सुरु गर्न लागेको यो कामलाई ‘नेपालय ई-कविता’ भनिने छ । यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन् । यो प्लेटफर्ममार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सिर्जनाहरू प्रस्तुत गर्ने छन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुने छ ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो । अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे’, ‘ई–कविता’ को परिकल्पनामाथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सLमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पार्‍याैँ । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सिर्जनाले सर्जक र पाठक–श्रोताबीच सेतुको काम गरे पनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

‘ई-कविता’को परिकल्पना, त्यही व्यवसायिक सेतु हो जसले पाठकसँग कविहरूलाई व्यवसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्नेछ ।

‘ई–कविता’ का क्युरेटर एवं संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । सो अनुभवको आधारमा ‘ई –कविता’बारे आफ्नो विचार राख्दै संयोजक मुकारुङ भन्छन्, ‘कविता, लामो समयदेखि व्यवसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ ।’

‘ई –कविता’को सुरुवात शनिबार हुने भएको छ । संयोगबस याे दिन आमाको मुख हेर्ने दिन परेकोले, शृङ्खलाको पहिलो कविताको रुपमा, आमाहरू र अग्रजहरूप्रति सम्मान एवं समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको ‘आमा’ शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन् ।

यस शृंखलामा अब तपाईं नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सिर्जनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सकिनेछ ।

सुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर नि:शुल्क पढ्न र सुन्न पाउने छन् । त्यसपछि नि:शुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सीमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्नेछ ।

‘ई-कविता’मा उपलब्ध हरेक कविता रु. १५ मा उपलब्ध हुनेछन्, साथै रु. ५२५ को सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ । विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा वार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.