मनकामना साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न: उत्कृष्टलाई सम्मान

बनेपा । बनेपा नगरपालिका वडा नंं ५ घोकेचौर स्थित श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

सभामा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्वव्यापी रुपमा देखिएको आर्थिक असहजताको प्रभाव नेपालमा पनि परेको र बैंकले एक्कासी व्याजदर बढाउँदा सहकारी क्षेत्र प्रभावित बनेको बताउनुभयो । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकनका सन्दर्भमा नेफ्स्कूनले मन्त्रालय, विभाग समक्ष कुरा राखिसकेको र छिट्टै एउटा टुङ्गोमा पुग्ने विश्वास लिएको बताउनुभयो । पौड्यालले श्री मनकामना साकोस सहकारीका मुल्य, मान्यता र आदर्श अनुरुप सञ्चालनमा रहेको र वित्तीय अवस्था स्वस्थ र सबल भएको भन्दै निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

 

सभामा साकोसका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन मार्फत साकोसको समग्र वित्तीय अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । साकोसको कुल वासलात २ अर्ब ८ करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

त्यसैगरी संस्थामा १ अर्ब ४९ करोड रुपैंया बचत, १ अर्ब ७४ करोड ऋण लगानी, ८ करोड ६८ लाख जगेडा कोष, ४ करोड ५७ लाखको अन्य कोषहरु पु¥याउन सफल साकोसले ५ करोड ५१ लाख रुपैंया नाफा गर्न सफल भएको जनाएको छ । साकोसमा ६ सय बालबचतकर्ता सदस्य एवं ८ हजार १ सय ६१ सेयर सदस्य रहनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।

साधारणसभा समारोहमा संस्थाका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार (नेपाल भरका माध्यामिक विद्यालयबाट कक्षा १२ को विज्ञान विषयमा सर्बोत्कृष्ट ग्रेड 3.96 GPA प्राप्त गर्न सफल) विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

सहकारीले ‘आपसी सहयोग, सद्भाव र सामुहिक हितका लागि सहकारी’ भन्ने नारालाई आत्मसाथ गर्दै सदस्यहरुको बिमा, मोबाइल बैंकिङ, डिजिटल क्यु.आर. भुक्तानी सेवाको सञ्चालन लगायतका सेवा उपलब्ध गराउँदै आएको र निकट भविष्यमा नै ए.टि.एम सेवाको सुरुवात गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.