सचेतनामूलक कार्यक्रम सम्पन्न

चौरीदेउराली । विश्व हातधुने दिवस अक्टोबर १५ को अवसरमा धुसेनी शिवालय अस्पतालको परिसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

चौरीदेउराली गाउँपालिका प्रमुख रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आम सर्वसाधारण जनतालाई राम्रोसँग हात धुन र स्वच्छता अपनाउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको धुसेनी शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईंले जानकारी दिए ।

 

दैनिक रुपमा दिसा पिसाब गरिसकेपछि, खाना खानु अघि र पछि नियमित रुपमा सही तरिकाले हात धुने विधि प्रर्दशन गरि सिकाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष चौलागाईंले मानिसको शरीरमा ९० प्रतिशत भन्दा बढी रोगहरु हातको माध्यमबाट शरीरमा पुग्ने भएकाले हातको सरसफाईलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सचेतनामूलक कार्यक्रममा चौरीदेउराली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर घिसिङ, अस्पतालका डाक्टर, कर्मचारी, सेवाग्राही र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी विश्व हातधुने अवसरमा चौरीदेउराली वडा नं. ६ कात्तिके बजारमा स्वास्थ्य शाखाको नेतृत्वमा अस्पतालका नर्स, कर्मचारीहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै राम्रोसँग हातधुने विधि प्रदर्शन गरेका थिए ।

राम्रोसँग हात धोएमा संक्रमण रोग लाग्नबाट बच्न सकिने भन्दै दिसापिसाब गरिसकेपछि, कुनै काम गरिसकेपछि र खाना खानुअघि नियमित रुपमा सही तरिकाले हात धुन सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सर्वसाधारणहरुलाई जानकारी गराइएको थियो ।

धुसेनी शिवालय प्राथमिक अस्पताल स्वास्थ्य शाखाको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा कात्तिकेदेउरालीमा स्थानीय बजार क्षेत्रका धेरै मान्छेहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.