नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’, ५५ घरधुरी लाभान्वित हुने

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बागमती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे– टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।

उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार, प्रदेश सरकारबाट विनियोजित रकमबाट बोलपत्रमार्फत निर्माण अघि बढाइएको थियो । १ सय ७३ मिटर डिप बोरिङ गरिएको छ भने त्यसको लागि मेसिन घर, ४० हजार लिटर क्षमताको रिजर्भायर टंयाक निर्माण गरिएको छ । विद्युत आपूर्तीको लागि नेपाल विद्युत्त प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मर राखिएको छ । लाइन विस्तारको लागि प्राविधिक स्टमेट तयार गरिएको स्थानीय उपभोक्ता दिपेन्द्र पौड्यालले जानकारी दिए । उनले थप बजेट व्यवस्थापनको लागि नमोबुद्ध नगरपालिकालाई अनुरोध गरिएको बताए ।

नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अवलोकन गर्दै बाँकी रहेको काम पुरा गर्न नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजना सम्पन्न गर्नुभन्दा पनि त्यसको दिगोपना प्रमुख विषय रहेको बताउँदै दीर्घकालिन सञ्चालन गर्ने योजना बनाउन अनुरोध गरे ।

उपभोक्ता समितिका अध्यक्ष पौडेलले नगर संरक्षक बन्ने अपेक्षा गरेको बताए । उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घर लगायतका संरचना बनाउनको लागि थप बजेट आवश्यक भएको बताए ।

नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायतले आयोजनाबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.