छड्के हाजिरी अनुगमन सुरु, अनुपस्थित हुनेमा पुरुष कर्मचारी बढी

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छड्के हाजिरी अनुगमन सुरु गरेको छ ।

कर्मचारी अनुपस्थित हुँदा सेवाग्राहीलाई मार पर्ने भन्दै अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।
जिल्लाका ६ वटा सरकारी कार्यालयमा गरेको अनुगमनमा २४ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

अनुपस्थित कर्मचारीहरुमा ३ महिला र २१ पुरुष रहेका छन् । ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला अनुपस्थित रहेका थिए । प्रतिवेदन अनुसार महिला कर्मचारीहरु पुरुषको तुलनामा जिम्मेवार पाइएको छ ।

छड्के अनुगमनको क्रममा पूर्वाधार विकास कार्यालयका १२ जना, डिभिजन वन कार्यालयका २ जना, घरेलु उद्योगका १, मालपोतका ५ र नापी कार्यालयका ४ जना कर्मचारी कार्यालयमा नआएको पाइयो भने कृषि ज्ञान केन्द्रमा सबै कर्मचारी उपस्थित भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला स्थित सरकारी कार्यालयको कार्यसम्पादन लगायतका सम्बन्धमा अनुगमन कार्यहरुलाई आगामी दिनहरुमा तीव्ररुपमा अगाडि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय नेपाल सरकार गृह मन्त्रालय मातहतको कार्यालय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.