एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज  २०७९ पौष २९ गते शुक्रबारका काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा कार्यक्रम सम्पन्न भएको हो ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको थियो । साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाएका छन् । 

सो सभाले मिति २०७९ कार्तिक २ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको बैंकले जनाएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल रहदै आएको बैंकको दाबी छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुऱ्याउन उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ । अघिल्लो आ‍.वमा मात्रै रू.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको बैंकले जनाएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी बैंकिङ्ग गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

बैंकले ग्रामीण तथा साना सहरी क्षेत्रमा ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी सम्पूर्ण नेपालीहरूलाई बैंकिङ्ग गतिविधिमा समावेश गर्न भूमिका निर्वाह गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.