नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड मर्ज भई संयुक्त कारोबार सुरु भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाम राखिएको छ । बैंकले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारालाई आत्मसाथ गर्दै एकीकृत कारोबार सुरु गरेको छ भने एकता र उत्कृष्टतालाई जोड दिने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ ।

मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुुभएको छ ।

नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहनुभएका मञ्जु बस्नेत आगामी सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहनुभएको छ ।

बैकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहिआएका दुबैं बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तिय सुचकहरुमा अग्रता हाँसिल गर्न सक्षम हुने अध्यक्ष पाँडेले बताउनुभयो । अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेगा बैंकका अध्यक्ष रहनुभएका भोजबहादुर शाहले दुई बैंकको मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताउनुभयो । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्घि र निरन्तरता दिँदै अगाडि बढ्ने बताउनुभयो ।

दुई बैंक मर्जर गर्न हौसला दिने तथा साथ एवं सहयोग पुऱ्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, दुबै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीवर्ग लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुबैं बैंकका अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गर्नुभयो ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पू‘जी रु. ३४.१२ अर्ब, कुल पूँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप रु. ३६०.२ अर्ब तथा कर्जा लगानी रु. ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ ।

निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.