नमोबुद्धका जनप्रतिनिधिको जनताको सेवामा पहिलो एक वर्ष

भकुण्डेवेंशी । नमोबुद्ध नगरपालिकाले स्थानीय निर्वाचन २०७९ पदभार सम्हाले पश्चात पहिलो एक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति सार्वजनिक गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । जनताको सेवामा पहिलो वर्षमा सुरु गरिएका, पूरा भएका र आगामी दिनमा गरिने कार्यक्रमको जानकारी गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख गौतमले नगरपालिकाले नागरिकको विश्वास जित्नेगरि काम गर्नुपर्ने बताउनुभयो । गरिबी, निरक्षरता, बेरोजगारी हाम्रो शत्रु भएकाले त्यसको अन्त्य गर्न जनप्रतिनिधिहरु प्रतिबद्ध हुनुपर्ने गौतमले जिकिर गर्नुभयो । एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि नागरिकका जनजीविकासँग सम्बन्ध राख्ने विषयहरुमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख गौतमले जिसस काभ्रेलीको आवाज बोल्ने गरि अघि बढ्ने बताउनुभयो । गाली गर्ने र नकारात्मक छाप छोड्ने भन्दा पनि खबरदारी र रचनात्मक सुझाव सञ्चार भएमा समृद्धि सम्भव भएको उहाँको तर्क थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुनसाङ लामाले सीमित स्रोत र साधनको उचित प्रयोग गरि जनताको आवश्यकता पूरा गर्दै जाने बताउनुभयो । आर्थिक, सामाजिक, पूर्वाधारको क्षेत्रमा स्थानीय नगरवासीको आवश्यकताको आधारमा विकास गर्दै जाने बताउनुभयो । सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राखेको नगरप्रमुख लामाकोे भनाई छ ।

उहाँले वृहत रोजगार र आयआर्जनसँग जोड्ने वितरणमुखी भन्दा उत्पादनमुखी क्रियाकलापमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरबासीले दिएको म्यान्डेड क्रमशः पूरा गर्दै बताउनुभयो । नगरबासीका जायज मुद्दामा हरपल सेवामा तत्पर रहेको बताउनुभयो । नगरपालिकामा निष्पक्ष रुपमा काम गर्ने वातावरणको सिर्जना भएको बताउनुभयो । नगर समृद्ध बनाउने अभियानमा नगरपालिका जनप्रतिनिधि र कर्मचारी टिमको सहयोग प्राप्त भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रत्न बहादुर लामाले नगरले कृषिको क्षेत्रमा विशेष सुधारको काम गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले नमोबुद्ध नगरकमिटीका अध्यक्ष कृष्ण प्रसाद खनालले विकास र परिवर्तन जादुको छडी जस्तो नभई विस्तारै हुँदै जाने बताउनुभयो । त्यसैगरि  भनाई राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले नागरिकलाई सत्य, तथ्य तथा जानकारी गराउने सूचना एवं समाचार प्रशारण गर्न पत्रकार लागिपर्ने बताउनुभयो । नगरपालिकाले गरेका राम्रा र अनुकरणीय कामहरुको पत्रकारहरुले उजागार गरेको प्रष्ट्याउनुभयो ।

कार्यक्रमकै अवसर पारेर नमोबुद्ध नगरपरिसरमा निःशुल्क वाइफाइको सेवा सुचारु गरिएको थियो । FREE WIFI ZONE को अवधारण अनुसार नगरपालिकासँगको समन्वयमा निःशुल्क वाइफाई सेवाको सुरु गरिएको वल्र्ड लिङ्क कम्युनिकेशन प्रा.लि.का बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले बताउनुभयो । देशका विभिन्न सार्वजनिक क्षेत्रहरुमा वल्र्ड लिङ्कले १४ हजार भन्दा धेरै स्थानमा वाइफाई राखेको अधिकारीको दाबी छ ।


कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङ, नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्याल, नमोबुद्ध नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु, राप्रपा नगर अध्यक्ष नवराज सत्याल, रास्वपा नगर अध्यक्ष पुष्कर न्यौपानेले, नगरपालिका क्षेत्रका जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगरबासीहरु, सञ्चारकर्मीहरु लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.