असुरक्षित बन्दै नेपाली आकाश

छिटो आरामदायी सुरक्षित यात्राको रुपमा लिइने हवाई यात्रा पछिल्लो समय नेपाली आकाशमा असुरक्षित बन्दै गएको छ । देशको राजधानी काठमाडौंको अन्तराष्टिय विमानस्थलमा सौर्य एयरलायन्सको जहाज विमान दुर्घटना हुँदा १८ जनाको निधन भएको पिर सेलाउन नपाउँदै दुई हप्ता भित्रै एयर डाइनेस्टीकको हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.७ सुर्यचौरमा दुर्घटना हुँदा ५ जनाको निधन भयो ।

यी र यस्तै दुर्घटनाका कारण नेपाली आकाशको हवाई यात्रा असुरक्षित बन्दै गएको महसुस गर्न थालिएको छ । नेपालमा हेलिकोप्टर दुर्घटनाको संख्या ४१ पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो विवरणमा उल्लेख छ । हवाई यात्राको इतिहासमा नेपाली आकाश बढी नै दुर्घटना हुने सूचीमा पर्दै आएको छ ।

नेपालमा हवाई उडान सुरु भएको ६९ वर्षको इतिहासमा ठुलासाना गरि १०९ वटा दुर्घटना भएको र दुर्घटनामा परि ९७४ जनाको दुःखद निधन भएको तथ्यांक छ । नेपाल सरकारका मन्त्रीहरु नै उड्डयन क्षेत्रमा नेपाली आकाश असुरक्षित बन्दै गएको अभिव्यक्ति दिन थालेका छन् ।

नेपालमा हुने हवाई दुर्घटनामा छानविन समिति बन्ने गरेतापनि सत्यतथ्य विवरण बाहिर नआउने, दुर्घटना पछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला पक्ष उदासिन बन्दा हवाई दुर्घटनाका घटनाहरु एकपछि अर्को गरि दोहोरिदै गएको हवाई विज्ञहरुले बताउँदै आएका छन् ।

नेपालको भौगोलिकताको नजरअन्दाज गर्दै आधुनिक उपकरणको अभाव, मौसम, भुगोलको नजरअन्दाज, विमान चालकको मानवीय कमजोरीले दुर्घटना बढेको दुर्घटनापछि आउने जाँचबुझ प्रतिवेदनमा ल्याउने गरिन्छ । तर पटक पटक हुने दुर्घटना रोक्नतर्फ सरोकारवाला पक्षको ध्यान जान सकेको देखिदैन ।

नेपाली आकाशमा बढ्दो हवाई दुर्घटनाका कारण युरोपेली संघले नेपाली जहाजलाई युरोपका आकाशमा प्रतिबन्ध कायमै राखेको छ । यस्ता दुर्घटनाले झनै प्रतिबन्ध फुकुवामा संसय पैदा भएको छ । हवाई सुरक्षमा दिर्घकालीन सुधारको पहल नगर्ने हो भने नेपाली आकाश राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा सधैं असुरक्षित र हवाई क्षेत्रको व्यापार सधैं घाटामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.