Tag: भुम्लु गाउँपालिका

  • भुम्लुमा दलित महिलामाथि कुटपिट, पीडकमाथि हदैसम्मको कारबाही माग

    भुम्लुमा दलित महिलामाथि कुटपिट, पीडकमाथि हदैसम्मको कारबाही माग

    चौबास । भुम्लु गाउँपालिका वडा नं. ४ चौबास स्थित पाक्पा टोलमा बस्ने अति विपन्न दलित महिलामाथि कुटपिट भएको छ । कान्छो सार्कीकी श्रीमती ५७ वर्षिया मसली सार्कीलाई यही फागुन ४ गते दिउँसो ३ः३० बजेको समयमा कुटपिट भएको हो । स्थानीय चौबास बजार, बिष्णु प्रसाद चौलागाईको सानो टहरो चिया पसल अगाडि सार्वजनिक स्थलमा कुटपिट भएको थियो । मसली सार्कीलाई भुम्लु गाउँपालिका वडा नं. ४ उर्लेनी बस्ने सूर्य बहादुर तामाङको छोरा ४० वर्षिय विजय कुमार तामाङले कुटपिट गरेको पीडित मसली सार्कीका छोरा अम बहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा जाहेरी दिएका छन् ।

    मसली सार्की चिया पसलमा जाँदा कसुरदार बिजय कुमार तामाङले पानी छ्यापी त्यस ठाउँबाट हटाउन खोज्दा उक्त विवाद चर्किएको थियो । तत्पश्चात कसुरदार विजय तामाङले मसली सार्कीलाई लात्ती प्रहार गरि घाइते बनाएका थिए । कसुरदारले लात्ती प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गर्दा पीडित घाइते महिला बेलुका बेहोस भएकी थिइन् । भोलिपल्ट पीडितको श्रीमान कान्छो सार्की खोजतलास गर्ने क्रममा सो स्थानमा मसली सार्कीलाई घाइते अवस्थामा फेला पारेका थिए । निजको श्रीमान कान्छो सार्कीले भोलिपल्ट बिहान पीडित सिकिस्त भएको कारण एम्बुलेन्स बोलाएर एम्बुलेन्समा राखी धुलिखेल अस्पताल पुर्याएर उपचार गर्ने क्रममा निज घाइते महिलाको देब्रे पट्टी खुट्टाको गेडी भन्दा मुनि ५÷६ इन्चको हड्डी फुटेको अस्पतालको प्राविधिक रिपोर्टमा देखिएको छ ।

    शल्यक्रिया गरी स्टील राख्नु पर्ने भन्ने जानकारी अस्पतालले जनाएको कुरा निजको श्रीमान कान्छो सार्कीले जानकारी दिए । उक्त दलित महिलालाई कुटपिट गरेका तामाङलाई २०८१ फागुन ५ गते प्रहरी चौकीमा बोलाई कुनै कारवाही प्रकृया अगाडि नबढाइ सामान्य कागज गरी छाडी दिएको थियो । यस घटनाको बारेमा वडा कार्यालय का जनप्रतिनिधि भने बेवास्ता गरेको पीडित पक्षले गुनासो गरेका छन् ।
    निष्पक्ष सत्य तथ्य छानवीन नगरी स्थानिय वडा, जनप्रतिनिधि र स्थानीय प्रहरी चौकी मुकदर्शक बनेको गुनासो पीडित परिवारले काभ्रेपोष्टसँग गरेको छ । स्थानीय प्रहरीले जाहेरी लिन नमानेपछि पीडित पक्षले आज शनिबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको थियो । घाइतेको सम्पूर्ण उपचार खर्च कुटपीट गर्ने तामाङले व्यहोर्नु पर्ने माग सहित दोषी माथी हदैसम्मको कारवाही माग गरिएको छ ।

    पीडक तामाङलाई पीडित पक्षको ठाडो निवेदनको आधारमा शुक्रबार नै पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले काभ्रेपोष्टलाई जानकारी दिए ।

     

  • किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु

    किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु

    भुम्लु । स्थानीय किसानहरूले उत्पादन गरेको साग बिक्री नहुँदा खेर जाने समस्या बढ्दै गएको छ । किसानहरूको यो समस्या समाधान गर्न भुम्लु गाउँपालिकाले नयाँ पहल गर्दै किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई आर्थिक राहत दिने उद्देश्यले प्रतिकिलो रु.२५ को दरमा साग खरिद गर्ने निर्णय गरेको हो । यसका लागि  सार्वजनिक सूचना जारी गर्दै किसानलाई गाउँपालिकाको कृषि विकास शाखामा साग बिक्री गर्न आह्वान गरेको छ ।

    भुम्लु गाउँपालिकाको बेखसिम्ले, सापिङ, कोड्का लगायतका क्षेत्रहरुमा अर्गानिक ठुलो साग उत्पादन हुने गरेकोले किसानले मिहिनेत गरेर उत्पादन गरेको साग बजार अभावका कारण खेर गइरहेको अवस्थामा गाउँपालिका आफैँले साग खरिद गरि गुन्द्रुक बनाउने योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताए । यस वर्ष गाउँपालिकाले सागबाट गुन्द्रुक बनाउने योजना पाइलट प्रोजेक्टको रुपमा अघि सारेको र जिल्ला एवं देशव्यापि नै गुन्द्रुकको बजारीकरण गरि हाइजेनिक गुन्द्रुक घरघरमा पुऱ्याउने लक्ष्य रहेको अध्यक्ष भुजेलले काभ्रेपोष्टलाई बताए ।

    यस योजनाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने र कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । गाउँपालिकाले औपचारिक रूपमा साग खरिद गरी बजारीकरण गर्ने योजना बनाएको हो । यसले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानहरूको आम्दानीको नयाँ स्रोत खोल्नेछ । गाउँपालिकाले यो अभियानलाई “समृद्ध भुम्लु“ कार्यक्रमअन्तर्गत अघि बढाइरहेको छ । कृषि क्षेत्रको विकास, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन सोचले यो योजना अघि सारेको गाउँपालिकाले जनाएको छ ।

  • भुम्लुका नवनिर्वाचित अध्यक्ष भुजेलको पहिलो जनप्रेमी निर्णय

    भुम्लुका नवनिर्वाचित अध्यक्ष भुजेलको पहिलो जनप्रेमी निर्णय

    भुम्लु । भुम्लु गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर भुजेलले भुम्लु बासी नागरिकहरुलाई प्राणघातक रोग मृगौला रोग, मस्तिष्क घात रोगहरुको नि:शुल्क उपचार गर्ने (फन्ड) कोषमा पहिलो हस्ताक्षर गरेर फाइल सदर प्रमाणित गर्नु भएको छ ।

    अब भुम्लुको नागरिकहरु उपचारको अभावमा अकालमा मृत्यु हुने दिन अन्त्य भएको घोषणा समेत नवनिर्वाचित अध्यक्ष  भुजेलले गर्नु भएको छ । अध्यक्षको पहिलो घोषणा नै निकै राम्रो काम भएको भन्दै भुम्लुको नागरिकहरुले खुसी ब्यक्त गरेको छन् ।

    त्यस्तै गाउँपालिका अध्यक्ष भुजेलले लालपुर्जा विहिन भुम्लु ७ र ८ भुम्लुटार फलाटे बन्देउका जनताहरुको लालपुर्जा समस्या समाधान गर्न उच्चस्तरीय पहलकदमी चाल्नु भएको बताइएको छ । भुम्लु गाउँपालिकाको लालपुर्जा विहिन भुम्लु ७ र ८ फलाटे भुम्लुटार बन्देउका जनता संग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकारको भुमी ब्यवस्था मन्त्री शशी श्रेष्ठसँग भुम्लु गाउँपालिका अध्यक्ष भुजेलले बिशेष भेटघाट तथा छलफल गर्नु भएको छ ।

    छिटोभन्दा छिटो लालपुर्जा समस्या समाधान गर्न भुम्लु गाउँपालिका र मन्त्रालयको मन्त्री शशी श्रेष्ठ साथै अन्य निकाय सँग  समन्वय गरेर जाने कुरा छलफल भएको स्रोतले  काभ्रे पोस्टलाई जानकारी दिएको छ ।