कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

काभ्रेपोष्ट समाचारदाता

कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
असार ९, २०७७
नेपाल ईन्जिनियर्स एसोसियनले कोभिड–१९ को ब्यक्तिगत तथा स्थानिय जोखिम मुल्यांकन गर्न सकिने बिधि ‘कोभिड रिक्स एसेसमेन्ट’ (कोभिरा) सार्वजनिक गरेको छ ।

बिभिन्न बिषयका बिज्ञहरुको सहभागितामा साईन्स हब नेपालले निर्माण गरेको यो बिधि प्रयोग गर्न कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ। जसमा आफ्नो तथा परिवारको ब्यक्तिगत मुल्यांकन गर्न सकिन्छ भने नेपाल भित्रका जुनसुकै स्थानको स्थानिय जोखिम कस्तो अवस्थामा रहेको छ त्यो पनि थाहा पाउन सकिनेछ ।

यो एप्लिकेसनले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम ब्यवस्थापनमा धेरै सहयोग पुग्ने एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले जानकारी दिए । बेलायतको हडर्स्फिल्ड विश्वविद्याका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन बिधिले सरकार, समुदाय तथा ब्यक्ति स्वयंलाई धेरै उपयोगी हुनका साथै यस्तो खालको बिधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको बताए । उनका अनुसार नेपालको सन्दर्भमा बनाइएको यो बिधीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लैजान सकिनेछ भन्छन् ।

बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा. ऋषिराम पराजुलीका अनुसार यो विधिले कोभिड लागीहालेमा पनि उमेर, लिंग, दिर्घरोग आदीले जोखिम कस्तो अवस्थामा रहेको छ, दैनिक कामहरु गर्दा कोभिड सर्नसक्ने जोखिम कति छ भन्ने बारे आंकलन गर्न समेत सकिन्छ भन्छनु । साईन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला बिश्वविद्यालयका डा. भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, डाटाको गोपनियता तथा सुरक्षा लगायत निकट भविष्यमा यसलाई थप परिमार्जन गर्दै लैजाने सकिने बताए । यो प्रविधि सम्बन्धि अनुसन्धानात्मक कृति चाँडै नै अन्तरराष्ट्रिय जर्नलमा समेत प्रकाशित हुने छ ।

कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने ?
कोभिरा, हाल संक्रमणको रुपमा फैलिरहेको कोभिड–१९ महामारीको जोखिम मुल्यांकन गर्ने बिधि हो। यसमा कुनै पनि ब्यक्तिले आफ्ना बारेमा सोधिएका केहि प्रश्नहरुको उत्तर दिएर आफ्नो ब्यक्तिगत जोखिम मुल्यांकन गर्न सक्नेछ। यसका साथै आफु बसिरहेको क्षेत्रमा कोरोना सर्न सक्ने जोखिमको अवस्था के छ र आफुलाई सर्न सक्ने जोखिम कति छ भन्ने बारे पनि मुल्यांकन गर्न सक्नेछन् ।

यो बिधि (www.covira.info) वेबसाइटमा उपलब्ध रहेको छ । यसमा रहेको ‘एसेस योर रिक्स’ लेखिएको बटन क्लिक गरि आफ्नो तथा परिवारजनको जोखिम मुल्यांकन गर्न सकिन्छ। योसंगै नेपालका बिभिन्न स्थानहरूमा विविध कारणले हुनसक्ने जोखिम मुल्यांकन नक्साहरुपनि राखिएको छ। सामाजिक आर्थिक, जनस्वास्थ्य साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ। यसमा रहेको ‘टोटल रिक्स’ बटनमा क्लिक गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउछ। यसमा देखाइएका क्षेत्रगत जोखिमहरु संभव भएसम्म पालिका स्तर देखि नै देखाईएको छ । कोभिड–१९ का केसहरुका बारेको दैनिक अपडेट पश्चात क्षेत्रगत जोखिमहरु परिवर्तन हुन्छन यसका लागी दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिन्छ ।

ब्यक्तिगत जोखिम मुल्यांकन बिधि चीन, ईटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६०,००० ब्यक्तिहरुको तथ्यांकलाई केलाएर बनाईएको हो। यसैगरी कोरोना सर्नसक्ने तथा यसको असर धेरै पर्नसक्ने विबिध पाटोहरुको अध्ययन गरेर जोखिम नक्सांकन गरिएको छ। ब्यक्तिगत जोखिम ब्यक्तिको उमेर तथा दिर्घ रोगहरुमा आधारित हुन्छ भने सर्नसक्ने जोखीम, स्थानियस्तरमा कोरोना सर्ने जोखिम तथा ब्यक्तिको आफ्ना कृयाकलापहरुमा भर पर्छ। कोरोना सर्नसक्ने जोखिम भने, देखिएका केसहरु, क्वारेन्टाईनमा रहेका ब्यक्तिहरु, जनस्वास्थ्यको अवस्था साथै सामाजिक आर्थिक स्तरका आधारमा मुल्यांकन गरिएको छ।

यसले जोखिमलाई ५ तहमा देखाउँछ, अति न्युन, न्युन, मध्यम, उच्च र अति उच्च। बिचमा रहेको सुईले जुन भागमा देखाउछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अवस्थामा के गर्ने त भन्ने बारे सुझावहरु यसले जोखिम अवस्थाको नतिजा संगै देखाउँछ।

मानिसबाट मानिसमा सर्ने यो महामारीबाट सकेसम्म बच्न र जनजीवनलाई सहजरुपमा अगाडी बढाउनु पर्ने अहिलेको आवश्यकता हो। यस परिवर्तित अबस्थामा आफ्नो तथा परिवारजनको जोखिम स्तर तथा स्थानिय जोखिम स्तरबारे जानकारी राखी सकेसम्म सुरक्षित रहने उपायहरु अबलम्बन गरि दैनिक जिवनयापन सहज बनाउन सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.