बनेपा नगरपालिकामा जनप्रतिनिधिको ५ वर्ष

बनेपा । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । नेपाल सरकारले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल समीक्षा एवं मुल्याङ्कन हुन थालेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले पाँच वर्षमा गरेको विकास निर्माणको कार्य र सेवा प्रवाहमा सक्रिय भई लागिरहँदा जनताहरुबाट प्रशंसा बटुलिरहेका छन् । यसैबिच बनेपा नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लाग्दा निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष अन्तरालमा के कस्ता विकास निर्माण गरे ? कसरी बजेटको सदुपयोग गरे ? जस्ता समीक्षा आम नगरबासीले गरिरहेका छन् । बनेपा नगरपालिकामा स्थानीय निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्ष अन्तरालमा नगरभित्रका ५३ किलोमिटर सडक कालोपत्रे गरेको छ । जनप्रतिनिधिले पाँच वर्षमा गरेका कामहरुको अनुमगन, मुल्यांकन र समिक्षा गर्ने उदेश्यले नगरपालिकाले विभिन्न समितिहरु १४ वटै वडामा खटाएको थियो । चालु योजना तथा जनप्रतिनिधि निर्वाचित भए पछि शुरु भएका योजनाहरुको अनुगमन तथा निरिक्षण गरिएको नगरप्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । संघ, प्रदेश, नगर र वडाबाट छनौट भएका योजनाहरुको गुणस्तर र निर्माणाधीन अवस्थामा रहेका योजनाहरुको अनुगमन गरिएको नगर प्रमुख बादेले बताउनु भयो । विकास निर्माणका लागी नगरवासी तथा उपभोक्ताहरुको प्रत्यक्ष सहभागीता रहनु पर्ने र योजना निर्माणमा तल माथि भएमा खबरदारी गर्न नगर प्रमुख बादेले बताउनु भयो । नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यमा ख्याल गरी बनेपा नगरपालिका डा नम्बर ४ मा १५ शैयाको अस्पताल निर्माण शुरु गरेको उहाँले बताउनु भयो । आँखाको मोतियाविन्दु भएका विरामीहरुको रेयुकाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदै आएको, र १८ वर्ष मुनिका बालबालिका हरुको अपाङ्ग बाल अस्पतालमा निशुल्क शल्यक्रिया गरिदै आएको, सामुदायिक विद्यालयका कक्षा ७ भन्दा माथिका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिएको, गुणस्तरीय शिक्षाका लागी नगरले समय समयमा शिक्षकहरुका लागि तालिम प्रदान गरिएको र पर्यटन लगायत स्मार्ट सिटी निर्माण शुरु गरी पुराना धारा, पोखरी, कुवा, मठ मन्दिरहरुलाई सम्पदा अनुसार निर्माण अन्तिम चरणमा पुगेको नगर प्रमुख बादेले वताउनु भयो । निर्वाचित भएको ५ वर्षमा नगरमा सडक ढलान ३४ कि.मी, नयाँ ट्रयाक ११६ कि.मि, ग्राभेल ४६ कि.मि, पक्की नाली १ सय १४ कि.मि.,ढल निर्माण ३३ कि.मि, ग्याविन तथा मेशिनरी वाल निर्माण ४५ कि.मि, ढुङ्गा तथा इटा छाप्ने कार्य १९ कि.मि., विद्यालय मर्मत सम्भार २५ वटा, पाटी, ट्रष्ट तथा किरियापुत्री भवन निर्माण २५ वटा, सामुदायिक भवन निर्माण ५३ वटा, मठमन्दिर, पोखरी निर्माण र संरक्षण ८२ वटा, खेलमैदान निर्माण १२ स्थानमा सिचाई योजना २२ वटा एकीकृत खानेपानीले छुने बाहेक बाँकी वडामा २ हजार ८ सय घरधुरीमा १ घर १ धारा खानेपानी, सामुदायीक विद्यालयका भवन, १४ वटै वडामा स्वास्थ्य चौकी भवन, वडा कार्यालयका भवनहरु, मठ, मन्दिर लगायतका निर्माण कार्य सम्पन्न भएको नगरपालिका उप प्रमुख तथा योजना अनुगमन प्रमुख रेखा सापकोटा दाहालले वताउनु भयो । कृषि तर्फ कृषकहरुलाई तालिम, विउ वितरण, टनेल, कृषि औजार, माटो परिक्षण, पशुपन्छी तर्फ उन्नत बोयर जातका बोका वितरण, विभिन्न रोगहरुको खोप, गोठ सुधार लगायतका कामहरु गरिएको दाहालले बताउनु भयो । नगरमा विभिन्न सिपमूलक तालिम प्रदान गरी आयस्तर उकास्नका लागि कौसी खेती तालिम, ड्राईभिङ्ग, सिलाई बुनाई लगायत धेरै तालिमहरु प्रदान गरिएको दाहालले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.