विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर खड्का र कार्यसमिति सदस्य दावा लामाले संयुक्त रुपमा बैठक राख्न माग गरेका हुन् ।

एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षक बीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएकोले तत्काल बैठक बसी निर्णय गर्नुपर्ने भएको हुँदा एन्फा कार्यसमितिको बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दैछौं, संयुक्त पत्रमा भनिएको छ ।

प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभई होटलमा राख्नुपर्ने माग खेलाडीका तर्फबाट राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो । अन्य ९ खेलाडीले रोहितका विषयमा छलफल गर्न खोज्दा अलमुताइरील उनीहरु पनि प्रशिक्षण छाडेर जान सक्ने बताएपछि विवाद झन चर्केको थियो ।

१० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै घटनाविवरण सार्वजनिक गरेका थिए । सोही दिन अलमुताइरीले भने अन्य १४ खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.