दुवै पक्षले शान्तिपूर्ण ढंगले समस्या समाधान गर्नुपर्छः चीन

काठमाडौं। रुस-युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा एएफपीका पत्रकारले रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्व युद्धको सम्भावना रहेको चेतावनी दिएको कुरा उल्लेख गर्दै यसमा चीनको धारणा सोधेका थिए ।
उक्त प्रश्नको जवाफमा प्रवक्ता वेनबिनले भने, ‘कसैले पनि तेस्रो विश्व युद्ध देख्न चाहेको छैन । दुवै पक्षले संयमता अपनाई शान्तिपूर्ण तवरले समस्या समाधान गरी छिटोभन्दा छिटो युरोप र विश्वलाई पुग्न सक्ने क्षतिलाई कम गर्न सक्नेछन् ।’

गत फेब्रुअरी २४ यता रुस-युक्रेन द्वन्द्वमा ठूलो जनधनको क्षति भएको छ भने लाखौं शरणार्थी बनेका छन् । यसबीचमा राष्ट्रसंघलगायतले मध्यस्थताको प्रयास गरे पनि पूर्ण रूपमा दुई मुलुकबीच युद्धविराम हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.