संकट उन्मुख अर्थतन्त्रमा सुधार गरौँ

देशको अर्थतन्त्रको आँकडाहरु संकट उन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । नेपालको निर्यातमा भन्दा आयातमा उच्च परिमाणमा विदेशी डलर बाहिरिने गरेका कारण पनि राष्ट्र बैंकले सचेत गराएको देखिन्छ । विदेशी मुद्रा आर्जन हुने गतिविधि विदेशी सहायता, रेमिट्यान्स, निर्यात, पर्यटनबाट कोभिड १९ सुरु भएदेखि यथेष्ट आर्जन हुन सकेको छैन । निरन्तर विदेशी विनिमय सञ्चिति घटिरहेका कारण कतै मुलुक श्रीलंकाको अवस्थामा त पुग्ने हैन ? सर्वत्र चासोको रुपमा हेर्न थालिएको छ ।

कोभिड १९ पश्चात देशमा आर्थिक गतिविधि सन्तोषजनक अवस्थामा छैन । निर्यातको तुलनामा आयात झन्डै ४० देखि ५० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । नेपालबाट विलासिताका सामाग्री, सवारी साधन र तिनका पाटपुर्जा र इन्धनमा ठुलो रकम बाहिर गइरहेको छ । दिनानुदिन विदेशी विनियम सञ्चिति घट्दो अवस्थामा छ । बेलैमा सचेत नहुने हो भने नेपालजस्तो परनिर्भर मुलुकलाई विश्व बजारबाट अत्यावश्यक सामग्री औषधि , इन्धन आयात गर्न समेत समस्या हुन सक्छ । हुन त राष्ट्र बैंकले विदेशी विनियम सञ्चिति बढाउन नीति अगाडि सारेको छ तर कुन कुन वस्तुहरुमा आयात रोक्ने भन्ने विषयमा स्पष्ट छैन । विलासिताका साधन र गाडी खरिद नगर्न वाणिज्इ बैंकहरु मार्फत एलसी रोक्न मात्र भनिएको छ । यसले मात्र पुग्दैन यसतर्फ देशका जिम्मेवार निकाय र सरकारको नेतृत्वले समेत चिन्ता लिन आवश्यक छ ।

विदेशी विनिमय सञ्चितिको लागि राष्ट्र बैंकको प्रतिबन्धात्मक निर्देशन भन्दा पनि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरकारकै उचित कदम र निर्देशनको आवश्यकता देखिन्छ । नेपालमा विगत १ वर्षदेखि लिक्युडिटी क्राइसिस देखापरिरहेको छ । उत्पादनशील क्षेत्रहरुमा भन्दा अनुत्पादक क्षेत्रमा देशको ठुलो धनराशि लगानी र खर्च हुँदै आएको देखिन्छ । त्यसलाई रोकेर बेलैमा संकटको समाधान नखोजिए कुनैपनि बेला देश चरम आर्थिक संकटतिर नजाला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.