एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो ।

केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो । केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार एकान्तकुना र सातदोबाटोमा कुन प्रकृतिको पूर्वाधार बनाउने भन्ने तय भएको छैन ।

‘प्रारम्भिक रुपमा भएको अध्ययनअनुसार सातदोबाटोमा अन्डरपास र एकान्तकुनामा फ्लाइओभर बनाउनु उपयुक्त देखिएको छ,’ उनले भने,’टेन्डर लागेपछि डिजाइन गर्दा उपयुक्त देखिएको विकल्पमा रहेर पूर्वाधार बनाउँछौं ।’

एकान्तकुना नजिकै अरु पनि चोकहरु रहेकाले लामो फ्लाइओभर बनाउनुपर्ने देखिएको थियो । ती चोकमा मेट्रो र मनोरेलको स्टेसन पनि रहनसक्ने भएकाले फ्लाइओभर बनाउँदा जटिलता आउनसक्ने जोखिम पनि छ । निर्देशक श्रेष्ठका अनुसार जस्तो पूर्वाधार बनेपनि त्यहाँ हुने ट्राफिक जामलाई घटाउने बताए । अर्थ मन्त्रालयमा यी दुई ठाउँमा पूर्वाधार निर्माण गर्न करिब ६० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

‘वहुवर्षीय ठेक्कामार्फत काम अघि बढाउन स्रोत सुनिश्चितताका लागि प्रस्ताव गरेका छौं,’ श्रेष्ठले भने,’सहमति आइसकेको छैन ।’ सहमति आएपछि सम्बन्धित पूर्वाधारको डिजाइन समेत ठेकदार कम्पनीले ने गर्ने गरी ठेक्का लगाइने बताए ।

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाइसकेको छ । निर्देशक श्रेष्ठका अनुसार कम्पाीले अहिले डिजाइनको काम गरिरहेको छ । आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपैयाँमा यसको ठेक्का पाएको हो ।

फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा ठेक्का आह्वान गरेको थियो । आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको हो ।

कम्पनीले इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यो परियोजना तयार गर्नेछ । अर्थात् ठेकदारले नै ड्रोइङ र डिजाइनिङको काम गर्नेछ । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको थियो ।

चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ ।

ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ ।

फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.