चुनावले शैक्षिकसत्र नरोकिने, १ जेठबाट नयाँ कक्षा, ४५ लाख किताब छाप्नै बाँकी

२०७९ सालको नयाँ शैक्षिकसत्र १ जेठबाट सुरु हुने भएको छ । निर्वाचन आयोगले मतदान केन्द्र रहेका विद्यालय २८ वैशाखदेखि ३० सम्म तीन दिन बन्द गर्न सरकारलाई सिफारिस गरेपछि १ जेठबाट पठनपाठन सुरु गर्ने निर्णयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको हो ।

‘चुनावले विद्यालयलाई असर गर्दैन । वैशाख महिनाभित्र परीक्षा सकाएर भर्ना अभियान पनि सँगै चल्छ,’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले भने, ‘१ जेठबाट कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छौँ ।’

वैशाखबाट नै नयाँ शैक्षिकसत्र सुरु हुनु पर्ने हो तर कोरोना माहामारीका कारण धकेलिएर जेठमा पुगेको हो । चुनावका कारण शैक्षिकसत्र पछि धकेल्ने पक्षमा मन्त्रालय छैन । ‘विद्यालय मतदान केन्द्रमात्र रहन्छ । ३० वैशाखमा चुनाव सकिन्छ । गणनाको काम स्थानीय पालिकामै हुन्छ,’ प्रवक्ता लुइँटेलले भने, ‘शैक्षिकसत्रको पूर्व तयारीलाई परिवर्तन गरेका छैनौँ ।’ हाल विद्यालय तहको परीक्षा धमाधम भइरहेको छ ।

कतिपय विद्यालयले परीक्षा सकाएर भर्नाको तयारी गरिरहेको उनले बताए । ‘एसईई चलिरहेको छ । १ देखि ९ सम्मको धेरै विद्यालयमा परीक्षा सकिएको छ । केही विद्यालयले एसईईपछि गर्ने तयारी गरेका छन्,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.