गठबन्धन दल भर्सेस एमाले !

बनेपा । काभ्रेमा सत्ता गठबन्धन दल र नेकपा एमालेबिच स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अहिले गाउँनगरमा चुनावी माहौल तातिएको छ । काभ्रे जिल्लामा रहेका प्रमुख राजनीतिक दल चुनावी प्रचासप्रसारमा होमिएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लाभरि चुनावी माहौल तातिएको छ । काभ्रेमा नेकपा एमालेले १३ वटै स्थानीय तहमा विवादरहित ढंगले शक्तिशाली उम्मेद्वार छनौट गरी उम्मेद्वारी दर्ता गराएको छ भने गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले चुनावी तालमेल कायम राख्दै पालिका प्रमुख उपप्रमुख पदमा भागबन्डा गरेका छन् । पालिका प्रमुख उपप्रमुख पदमा गठबन्धन कायम रहेतापनि समग्र १३ वटै पालिकामा भने वडा तहमा तालमेल हुन नसक्दा गठबन्धन दलबिच मित्रवत प्रतिस्पर्दा रहने भएको छ । यद्यपी नेकपा एमाले पनि गठबन्धन दललाई काउन्टर दिन र चुनावमा जित हाँसिल गर्न स–साना दल र समूहहरुसँग तालमेल गरि चुनावमा होमिएको छ ।

गठबन्धन दलबिच जिल्ला तहको नेतृत्वमा सहमति नभएपछि प्रदेशस्तरिय नेतृत्वले प्रमुख उप–प्रमुख पदमा उम्मेद्वारी टुंग्याएको थियो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बाँनियाको संयोजकत्वमा बसेको बैठकले उम्मेद्वारी टुंग्याएको हो । नेपाली कांग्रेसले १३ वटै स्थानीय तहमा प्रमुख वा उप–प्रमुख पदमा एक उम्मेद्वार पाएको छ, जसमा ७ वटा स्थानीय पालिकामा प्रमुख पद पाएको छ भने ६ वटा स्थानीय तहमा उप–प्रमुख पद पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख र ५ उपप्रमुख पद पाएको छ । त्यसैगरी सत्ता गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले २ प्रमुख र २ उपप्रमुख पद पाएको छ ।

२०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा काभ्रेमा नेकपा एमालेले ७ पालिकामा जित हाँसिल गरेको थियो । नेपाली कांग्रेसले ४ स्थानमा विजय हाँसिल गरेको थियो भने नेकपा माओवादी केन्द्रले २ स्थानमा जित हाँसिल गरेको थियो । नेकपा एमालेले पनौती, बनेपा, नमोबुद्ध, धुलिखेल, मण्डनदेउपुर नगरपालिका, खानीखोला र भुम्लु गाउँपालिकामा विजय हाँसिल गरेको थियो भने नेपाली कांग्रेसले पाँचखाल नगरपालिका, बेथानचोक, तेमाल, रोशी गाउँपालिकामा जित हाँसिल गरेको थियो । त्यस्तै माओवादी केन्द्रले चोरीदेउराली र महाभारत गाउँपालिकामा जित हात पारेको थियो । अघिल्लो वर्षको राजनीतिक उतारचढावले नेकपा एमालेबाट नेपाल खनाल समूह छुट्टिएर नयाँ दल नेकपा एस दर्ता गरेसँगै एक पालिका प्रमुख मात्र नेकपा एसमा होमिएका थिए । नेकपा एमाले काभ्रेले आफ्नो साख जोगाउन भएपनि स्थानीय निर्वाचनको लागि बलियो उम्मेद्वार प्रस्तुत गरेको छ । सत्ता गठबन्धन दललाई चुनौती पनि उत्तिकै रहेको पाइएको छ । नेकपा एमालेले चुनाव केन्द्रित योजनाहरु पूर्वतयारीबाट थालिसकेको थियो । कार्यकर्ता प्रशिक्षणदेखि टोल कमिटी गठन, भातृसंगठन विस्तार, पार्टी प्रवेश कार्यक्रम लगायतका कार्यहरु गर्दै जनतासँग सक्रिय भेटवार्ता गरी सत्ता गठबन्धन दललाई चुनावमा टक्कर दिन लागिपरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.