चौरीदेउरालीमा गठबन्धन र एमालेबिच कडा प्रतिस्पर्धा हुने

चौरीदेउराली । चौरीदेउराली गाउँपालिमा एमाले र सत्ता गठबन्धन दल कांग्रेस माओवादी र एकीकृत समाजवादीका साझा उम्मेद्वारबिच कडा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनबाट माओवादीका रेणुका चौलागाईंलाई प्रमुख र कांग्रेसबाट शेरबहादुर तामाङलाई उप–प्रमुखका साझा उम्मेद्वार बनेका छन् । एमालेबाट जितराम लामा प्रमुख र बबिता खरेल उपप्रमुखमा उम्मेद्वारी दिएका छन् । विगतमा छुट्टाछुट्टै दलबाट चुनाव लडेका चौरीदेउरालीमा यसपटक नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साझा उम्मेद्वारको रुपमा महिला उम्मेद्वार रेणुका चौलागाईंलाई अघि सारेपछि गाउँपालिका प्रमुख र उप–प्रमुखमा गठबन्धनकै उम्मेद्वारले जित हाँसिल गर्ने आंकलन गरिएको छ । दश वर्षे जनयुद्धका कारण परिवार गुमाएको, स्थानीय भुगोलमा जनताको पिरमर्कामा सधैँ साथ दिएको, एकल महिला, सामाजिक कार्यमा क्रियाशील र संविधान सभा सदस्यको जिम्मेवारीको अनुभवका कारण पनि चौरीदेउरालीका जनताले रेणुकालाई नै मतदान गर्ने चौरीदेउरालीको राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका शिक्षक रमेश कुमार गौतम बताउनुहुन्छ ।

उता कांग्रेसका उप–प्रमुख शेरबहादुर तामाङ पनि चिरपरिचित उम्मेद्वार हुन् । चौरीदेउरालीमा कांग्रेसको संगठन बलियो रहेका कारण पनि तामाङलाई जित हाँसिल गर्न असहज नहुने नेपाली कांग्रेसका पूर्व गाउँपालिका प्रमुखका प्रत्याशी विक्रम गौतम बताउनुहुन्छ । चौरीदेउरालीमा एमाले फुटको असर हल्का परेतापनि एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार जितराम लामालाई बौद्धिक व्यक्तित्वको रुपमा लिने गरिएको छ । सांगठनिक रुपमा चौरीदेउरालीमा एमाले केही कमजोर देखिएतापनि पछिल्ला दिनहरुमा एमालेको चहलपहल बढेर गएको देखिन्छ । गठबन्धनमा पालिका स्तरमा भएको सहमति वडास्तरसम्म हुन नसक्नुले कांग्रेस माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताहरुमा नैराश्यता छाएको देखिन्छ । एकले अर्को पार्टीको उम्मेद्वारलाई किन भोट दिने भन्दै केही कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ । यो असन्तुष्टि चुनावसम्मै रहने हो भने चौरीदेउरालीमा एमालेले जित हाँसिल नगर्ला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.