मतदाताको घरघरमा उम्मेदवार

बनेपा । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई लिएर काभ्रेमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । वैशाख १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशनमा आएसँगै जिल्लाका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र केही स्वतन्त्र उम्मेद्वारहरु आफ्नो घोषणापत्र लिएर मतदाताहरुको घरघरमा पुग्न थालेका छन् । नेकपा एमालेले जिल्लाका १३ वटै स्थानीय तहमा नगर गाउँसम्म आफ्ना उम्मेद्वार र कार्यकर्ताहरुलाई घरदैलो अभियानमा सक्रिय बनाएको छ । त्यस्तै गठबन्धन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पनि गठबन्धन भएका नगर, गाउँपालिकामा संयुक्त रुपमा आफ्ना पार्टीका उम्मेद्वारहरुलाई जिताउन घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

काभ्रेमा यसपटक एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ भने एमालेका विरुद्ध गठबन्धन दलले साझा उम्मेद्वार तय गरी चुनावी मोर्चामा छन् । नेकपा एमाले जिल्ला, नगर र गाउँसम्म आफ्नो संगठनलाई मजबुत बनाउँदै जित हाँसिलका लागि अहोरात्र घरदैलो अभियानमा खटेको देखिन्छ । उता गठबन्धन दलमा नगर र पालिका स्तरमा मात्र सिट बाँडफाँट भएपछि वडा स्तरमा तालमेल हुन नसक्दा कार्यकर्ताहरुमा नैराश्यता छाएको देखिन्छ । नगर र पालिका प्रमुखमा एक दल र उपप्रमुखमा अर्को दल भएपछि एकले अर्कोलाई खुलेर भोट माग्न सकिरहेको देखिदैन । वडास्तरमा एमाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबिच एक्लाएक्लै मित्रवत प्रतिस्पर्धा हुने देखिएको छ । समग्र अवस्थालाई हेर्दा नगर र पालिकामा एमाले र गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने वडा स्तरमा अधिकांश स्थानमा एमालेले जित हाँसिल गर्ने आंकलन गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.