नेकपा एमाले नमोबुद्ध नगर कमिटीको प्रतिबद्धता पत्र सार्वजनिक, रोजगार बैंक देखि पर्यटन विकासमा जोड

नमोबुद्ध । नेकपा एमाले नमोबुद्ध नगरकमिटीले नगरपालिकामा विजय भएपश्चात गर्ने कार्ययोजनाको सहितको खाका प्रस्तुत गरेको छ । आज नमोबुद्ध नगरपालिका वडा नं. ४ काफ्लेथोक पौडेलचौरमा भएको कार्यक्रममा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार राजन भुर्तेलले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्नुभएको हो ।

नेकपा एमाले नमोबुद्ध नगरपालिकाको प्रतिबद्धता पत्रमा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफूहरु भ्रष्टाचार नगर्ने साथै पाँच वर्ष भित्रमा दिगो विकासका सूचकहरु स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरण एवं गरिबी निवारणको क्षेत्रमा उल्लेख्य काम गर्ने मेयरका उम्मेद्वार भुर्तेलले बताउनुभयो ।

कार्यक्रममा प्रतिबद्धता पत्र प्रस्तुत गर्दै मेयरका उम्मेद्वार भुर्तेलले नमोबुद्ध क्षेत्रको प्रवर्धनका साथै नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्ने, एवम् नगरपालिकामा नयाँ नयाँ उद्योग स्थापना गर्नेसँगै स्थानीय श्रमशक्तिको प्रयोग गरी रोजगारी व्यवस्थापन गर्ने बताए । नगरपालिकामा सुशासन कायम राख्ने, नगरभित्र गुणस्तरीय र दिगो पूर्वाधार विकास निर्माण गर्ने, आवास तथा बस्ती विकासलाई जोड दिने, सधैका लागि र सबैका लागि स्वच्छ खानेपानी एक घर एक धारा पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने, आधारभूत स्वास्थ्य सेवा पूर्ण रुपमा निःशुल्क गर्ने, शिक्षामा स्तरोन्नति र स्थानीय पाठ्यक्रमलाई गुणस्तरीय बनाउने, युवा नेतृत्व विकास गर्ने, कला संस्कृतिको रक्षा जगेर्ना गर्ने, बालमैत्री पार्क निर्माण गर्ने विपद् आइपर्दा विपद् व्यवस्थापनमा खटिने टोलीलाई सापेक्ष तालिम प्रदान गर्ने जस्ता महत्वपूर्ण योजनाहरु जनता समक्ष सार्वजनिक गरेका छन् ।

नेकपा एमाले नै परिवर्तन र विकासको संवाहक रहेको, राष्ट्रियताको रक्षा, लोकतन्त्रको स्थापना र सामाजिक रुपान्तरणको र नगरको विकास निमार्णलाई तिव्र रुपमा अघि बढाउन समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नगर प्रमुख पदका उम्मेद्वार भुर्तेलले सुर्य चिन्हमा मतदान गर्न सम्पूर्ण नगरबासीलाई अपिल गरेका छन् । प्रतिबद्धता घोषणा कार्यक्रममा नगर उपप्रमुख पदका उम्मेद्वार सम्झना लामा, केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रेशम लामा, प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामा, प्रदेश सभा सदस्य गोमा भुर्तेल, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, नमोबुद्ध नगर कमिटीका सदस्य, स्थानीय नेताहरु, पत्रकारहरु एवं स्थानीयहरुको. उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.