गरिबी, बेरोजगारी र असमानताको अन्त्य गछौँः मेयर पदका उम्मेद्वार अधिकारी

पाँचखाल । नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले आसन्न चुनावको सन्दर्भमा आफ्नो प्रतिबद्धतापत्र घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । जसमा पाँचखाल नगरबासीका भावना अनुरुप बढी भन्दा बढी स्थानीयलाई रोजगारी दिने, कृषिलाई व्यावसायिकरण गर्ने, मेयर उद्यमशीलता कार्यक्रम सञ्चालन गरी १ प्रतिशत ब्याजदरमा नै ऋण उपलब्ध गराइने मेयर पदका उम्मेद्वार अधिकारीले बताउनुभयो ।

आज नेकपा एमाले पाँचखाल नगर कमिटीको कार्यालयमा भएको घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमालेको स्थानीय सरकार आएपछि गरिबी, बेरोजगारी र असमानताको अन्त्य साथै स्पष्ट नीति र विचार बोकी समृद्ध नगर बनाउन लाग्ने मेयर पदका उम्मेद्वार अधिकारीको भनाई थियो । विगतको पाँचखाल सरकारले हचुवाको भरमा बजेट विनियोजन गरेको, टुक्रे योजनालाई प्राथमिकतामा राखेको मेयर पदका उम्मेद्वार अधिकारीले दाबी गर्नुभयो ।

प्रतिबद्धता घोषणापत्र सार्वजनिक गर्दै मेयर पदका उम्मेद्वार अधिकारीले नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाको नेतृत्वमा मदन भण्डारी बहुप्राविधिक विश्वविद्यालय स्थापना, सुनकोशी इन्द्रावती खानेपानीको सुरुवात, विशेष आर्थिक क्षेत्रको कार्यान्वयन, ताथली रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययन, इन्द्रावती पाँचखाल लिफ्टीङ सिँचाई सम्भाव्यता अध्ययन लगायतका महत्वपुर्ण आयोजना पाँचखाल नगरपालिकामा अघि बढेको अधिकारीले बताउनुभयो । यी आयोजनालाई पुर्णता र सार्थकता दिन तथा सहज सेवा प्रवाहका लागि पनि एमालेले स्थानीय सरकार जित्नु आवश्यक रहेको बताउनुभयो ।

आफू निर्वाचित भएपछि भु–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, पाँचखाललाई व्यवस्थित शहरको रुपमा विकास गर्ने, सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने र मुख्य सडकलाई क्रमश कालोपत्रे गर्ने अति विपन्न नागरिकलाई बिजुली अनुदान दिने प्रतिवद्धता जनाएका छन् । यस्तै हाम्रो गाउँः हामी बनाउँछौं कार्यक्रम सञ्चालन गर्ने, कृषियोग्य भुमिमा सिँचाइको व्यवस्था मिलाउने, गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने नगर प्रमुखका उम्मेद्वार अधिकारीले बताउनुभयो । यस्तै नगर उप–प्रमुख पदकी उम्मेदवार सुर्यमाया दनुवारले कला संस्कृति तथा पुरातात्विक सम्पदाको संरक्षण, महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्तिहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् । कार्यक्रममा स्थानीय नेता कार्यकर्ता, स्थानीय नगरबासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.