उपत्यकाका अधिकांश अस्पताल आइतबार बन्द नहुने

काठमाडौँ | सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन्।

लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन्।

यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए। तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ।

यद्यपी पाटन मानसिक अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिए। उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए ।

अत्यावश्यक सेवामुलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुने अधिकारीले जनाए ।

एकदिन मात्र बिदा हुँदा त बिरामीलाई सास्ती भइरहेको सन्दर्भमा दुई दिन बिदाले थप मारमा पर्ने देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.