स्थानीय तहमा न्याय निरुपणको विषयमा एक दिने अन्तरक्रिया सम्पन्न

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा स्थानीय तहमा परेका उजुरी एवं मुद्दा फर्छ्यौट एवं विवाद निरुपण सम्बन्धमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ‌। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा स्थानीय स्तरमा उठ्ने बिबाद एवं मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा उपस्थित न्याय समितिका पदाधिकारीको प्रश्न एवं गुनासाहरूको प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईले सम्बोधन गर्दै स्थानीय तहमै सम्बोधन गर्न सकिने र कानुनको दायरा लगायत बिषय सम्बन्धमा प्रस्ट्याउनु भएको थियो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुरक्षा सम्बन्धी विषयलाई मात्र आफूहरूले कार्यान्वयन गर्न सकिने हुँदा स्थानीय स्तरमा ससना झैझगडा मिलापत्र गरेमा स्थानीय तह जिम्मेवार हुने र जिल्लामा पनि अधिक कार्यभार नहुने बताउनुभयो ।

आफन्त आफन्तको झगडा एवं स्थानीय स्तरमै समाधान गर्न सकिने विषयहरूलाई स्थानीय स्तरमै समाधान हुँदा प्रहरीलाई सहज हुने काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै जिसस प्रमुख गौतमले स्थानीय जनप्रतिनिधि एवं स्थानीय न्यायसमितिका पदाधिकारीहरूलाई दलगत स्वार्थबाट अघि बढेर हातेमालो गर्दै जनताको सुख दु:खमा सहयात्री हुन र स्थानीय स्तरका बेमेल झैझगडा स्थानीय तहमै समाधान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिसस प्रमुख दिपक गौतम, जिसस उपप्रमुख रिम बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी, जिल्ला समन्वय अधिकारी भीमप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुख एवं न्याय समितिका संयोजकहरू, न्याय समितिका सदस्यहरु, मेलमिलापकर्ता, जिसस पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.