मञ्जु पौडेलको तीज गीत ‘बाबाको आँगनी’ चर्चामा

काठमाण्डौं । गायिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा यसपालिको तीज गीत निर्माण गरेकी छिन् । गीत ‘मञ्जु पौडेल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ‘बाबाको आँगनी’ बोलको गीतमा तीजमा आमा र माइतीघरको आगनी प्यारो हुने विषयवस्तु प्रस्तुत गरिएको छ ।

गीतको सुरुवातिमा गायिका पौडेलले आफ्नी स्वर्गीय आमा प्रति भावनात्मक शब्दसागर समर्पण गरेकी छन् ।

‘आमा ! म तिम्रो छोरी हुँ, रगत हुँ, तिम्रै संस्कार हुँ, तिम्रै चेतना हुँ, तिमि संगै हाँस्न सिकें बाँच्न सिकें जिबन सिकें, कला सिकें कोमलता सिकें, गाउन सिकें नाँच्न सिकें, गायन र नृत्य भित्र कलाको उच्चता भेटें, आज जुन गीत गायकी छु तिमीले गुनगुनाएको, गाएको र मलाई गाउन सिकाएको गीत हो आमा ! यो गीत हो, तर गीत मात्र होइन मेरी आमाको स्पन्दन, मुटु र ममता हो । आमा ! हजुरको आवाजमा बर्षौं सुनेको यही गीतमा आज आफ्नो स्वर भरेर तिम्रै सम्मानमा अर्पण गरेकी छु । आमा ! दुधको भारा त तिरेर सकिन्न सकिन्न तर आज लाग्दैछ, गीतको भारा पनि तिर्न नसकिँदो रहेछ । यो त मेरी आमाको स्मृतिमा सम्मान हो श्रद्धा हो, हो मेरो मनको चोखो समर्पण’ । सुरुवातीमा भाव विह्वल हुँदै बोलिएका गहकिला शब्दहरुले आमा गुमाएका हरकोही छोरीहरुको मन बहकिन्छ ।

सुरुवातमा वियोगात्मक प्रस्तुती भएपनि गीत तीजको रौनकमा आधारित विषयवस्तुमा केन्द्रित छ । तीजमा माइतीघर गएर रमाइलो गर्ने र लामो समयको दुःख, पीडालाई बिसर्ने तीजको संस्कृतिलाई लयात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा गायिका मन्जु पौडेलको एकल स्वर रहेको छ । गायिका मञ्जुकी आमा स्वर्गीय भगवती देबी ज्ञवालीको लय संकलनबाट तयार भएको गीतको शब्द लेखन शिव हमालको रहेको छ ।

गीतको भिडियोमा मुख्य भुमिकामा गायिका स्वयं मञ्जु पौडेल र अनुसा पौडेलको अभिनय रहेको छ । गीतको छायांकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । एडभेन्चर इन्टरटेनमेन्टको पोस्ट प्रडक्सनमा निर्माण भएको भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । भिडियोलाई सामाजिक सञ्जाल युट्युबमा २ लाख ५० हजारभन्दा धेरै पटक हेरिएको छ भने सामाजिक टिकटक लगायतमा दर्शकस्रोताले रुचाएका छन् । अहिलेका तीजको भिडियोमा  सर्जकहरुले पुरुषहरु कलाकारको सहभागितालाई समेत प्रस्तुत गर्दै आएका छन् ।

 

गीतलाई तलको लिङ्क भएर वा मञ्जु पौडेलको युट्युब च्यानलमा गएर हेर्न सकिन्छः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.