विपद न्यूनिकरणका लागि परामर्श बैठक सम्पन्न

धुलिखेल । जिल्ला विपद् व्यवस्थापन समितिको परामर्श बैठक प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । विपद् जुनसुकै बेला आउन सक्ने र सरकार एवं तालुकदार निकायहरु सजग र विपद् प्रतिकार्य गर्न पूर्व तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । काभ्रेमा १३ वटा स्थानीय तह रहेको र हरेक पालिकामा फरक फरक खालको विपद्का घटना हुन सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको जिकिर थियो । जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि सहभागी विपद् व्यवस्थापन परामर्श बैठक विपद् न्यूनीकरणमा सहयोग पु¥याउने सामाजिक संस्थाले समन्वय गरेका थिए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लामा हुने हरेक विपद्का घटनामा स्थानीय सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

विपद् न्यूनीकरण गर्न स्थानीय सरकारको ठुलो भूमिका हुने कुरा प्रष्ट पार्दै जिसस प्रमुख गौतमले घटना हुनै नदिन र घटना भएपनि छोटो समयमा न्यूनीकरणको अभ्यास स्थानीय सरकारले थालनी गर्नुपर्ने बताउनुभयो । प्रमुख गौतमले प्राकृतिक प्रकोपका घटनामा जिल्लामा रहेका खानी तथा क्रसरहरू पनि प्रमुख माध्यम रहेको बताए । उनले सबै उद्योगहरु मापदण्ड भित्र रहेर सञ्चालन गर्न अनुरोध गर्नु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाका विपद् व्यवस्थापनको चित्रण गर्नुभएको थियो । प्रजिअ पाण्डेले विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री र जनशक्ति जस्तै दमकल, एम्बुलेन्स, शव वाहन लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन गर्न एकीकृत संयन्त्र आवश्यक रहेको बताउनु भयो । क्रसर र खानीका कारण आउन सक्ने दुर्घटना न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि सबै पक्ष सचेत रहनु पर्ने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जोड दिनु भयो ।

परामर्श बैठकमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल, चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा लगायतले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि भएका प्रयास तथा विपदको जोखिमका बारेमा धारणा राखेका थिए ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले विपद् व्यवस्थापनका लागि आउन सक्ने जोखिम र स्थानीय सरकारको तयारीका बारेमा धारणा राखेका थिए । नेपाली सेना कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सशस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका प्रमुख नगेन्द्रप्रसाद दाहाल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोथम सेढाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विपद् व्यवस्थापनका लागि सरोकारवाला कार्यालयका प्रतिनिधिहरुले बैठकमा विपद् रोकथामका लागि कार्यालयले गर्ने योजनाका बारेमा प्रस्तुती गरेका थिए । बैठकले विभिन्न निर्णय गर्दै कार्यक्रमको समापन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.