आठ हजार कन्या पुजिए

बनेपा । बनेपा नगरपालिकामा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गरिदै आएको छ । सांस्कृतिक नगरको रुपमा परिचित बनेपामा विगत १२० वर्षदेखि ऐतिहासिक कन्या पूजा हुने गरेको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिनमा करिब आठ हजार कन्या पुजिएको सनातन कन्यापूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । समितिका अनुसार कन्यापूजा प्रतिकन्या ४ सय रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको थियो । कोरोना महामारी सुरु भएसँगै विगत २ वर्षदेखि कन्यापूजा हुन सकेको थिएन, यसपालि बनेपा नगरमा कन्यापूजा धुमधामले भव्यताका साथ सम्पन्न भएको छ ।

कन्याहरुको पूजा गर्दा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास रहँदै आएको छ । कन्याहरुलाई पूज्ने व्यक्तिलाई समेत राम्रो हुने जन विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको समितिले जनाएको छ । कन्याहरुलाई उपहारसहित पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटीलगायतका खानेकुरा दिएर पूजा गर्ने प्रचलन रहेको छ । बनेपाका कन्याहरुलाई चण्डेश्वीको सन्तानको रुपमा मान्ने भएकाले कन्याहरुको पूजा र्ने प्रचलन बसेको हो । सुरुवातमा बनेपाका नेवार समुदायका कन्याहरुमात्र पुजिने प्रचलन रहे पनि पछिल्लो समय बनेपाका साथै अन्य स्थान र जिल्लाका कन्यासमेत पुजिँदै आएको समितिले जनाएको छ ।

बनेपाको भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दायाँबायाँ सडकमा कन्याहरुलाई राखेर पुजिने प्रचलन रहेको छ । भोलाखाँ टोलबाट सुरु भएको पूजा चारदोबाटो हुँदै लायकु दरबारसम्म पुग्ने गर्दछ । बनेपाका नेवार समुदायका एक व्यक्तिलाई धेरै दुःख भएपछि उनले आफ्नो घरमा रहेका कन्यालाई घरको बुईगलमा राखेर पूजा गरेको किंवदन्ती रहेको छ । कृष्ण जन्माष्टमीको अवसरमा जिल्लाका अन्य क्षेत्रहरु बुडोल, भैंसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा, खड्पु, पनौतीमा समेत सयौँ कन्याहरु पुजिदै आएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.