सहयात्रा देवीस्थान साकोसको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न 

पनौती। पनौती नगरपालिका वडा नं. ६ मा अवस्थित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पनौती व्यान्क्वेटमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले पानसमा बत्ती बालेर सभाको समुद्घाटन गर्नुभएको थियो ।

सभाको उद्घाटन गर्दै नगरप्रमुख भण्डारीले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारी मार्फत कृषि, साना उद्योग लगायतका क्षेत्रबाट आर्थिक समृद्धि प्राप्त गर्न सकिने भण्डारीले बताउनुभयो ।

सभामा साकोसका सदस्य समेत रहनुभएका संविधान सभा सदस्य एवम् कार्यक्रमका बिशिस्ट अतिथि रामहरि सुबेदीले   आफू सहयात्रा सहकारीको कार्य सम्पादन र सुशासन चित्तबुझ्दो रहेकोले सहकारी सदस्य रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी एवम् पनौती न.पा.वडा न. ६ का वडाअध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारीले पनौतीका सहकारीहरु नभागेका र सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको बताउनुभयो । नगरपालिकाको सहकारी शाखाले आवश्यकता अनुरुपका कार्यक्रम सन्चालन गर्दै आएको बताउनुभयो ।

संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो । साथै संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सागर प्रजापतिलाई समेत कार्यक्रममा सम्मानित गरिएको संस्थाका व्यवस्थापक गौतम प्रजापतिले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणदेवि श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

संस्थाका कोषाध्यक्ष आनन्द सापकोटाले आर्थिक प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । २ हजार ५ सय १२ जना शेयर सदस्य रहेको संस्थामा १७ करोड १० लाख ३४ हजार ८२ रुपैयाँको कुल पुँजी रहेको सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय सहकारी र संघ संस्थाका प्रतिनिधिहरु, साकोसका सल्लाहाकारहरु, विभिन्न उप-समितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.