‘दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुण्डेवेंशीमा सम्पन्न

काठमाडौँ । दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ ।

महित्सव काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेंवेशीमा भएको  थियो ।

महोत्सवमा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुषाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । दीया फिल्म ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ बाट सर्वोत्कृष्ट हुन सफल भए ।

शनिवार सम्पन्न महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र ‘झिंगेदाउ’ले जितेको छ । महोत्सवमा फिचर फिल्म ‘प्रकाश’ ले जुरी अवार्ड हात पार्न सफल भयो ।

महोत्सव चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको हो ।

उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे ।

साथै उत्कृष्ट फिचर फिल्म छायाकारको पुरस्कार ‘डेसान’ले प्राप्त गर्‍यो । छायाकार चक्रबहादुर महर्जनले उक्त अवार्ड हात पार्न सफल भए ।

उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्‍यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो ।

उत्कृष्ट भाषिक फिल्म अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’, उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड अभिनेत्री ‘परिवर्तन’बाट सरिता भारती, उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गर्दा उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो ।

कार्यक्रममा सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरी, निर्देशक लक्ष्मण सुवेदी, अभिनेता उत्तम केसी, निर्माता संघका कोषाध्यक्ष ज्योति राई लगायतले अवार्ड प्रदान गरेका थिए ।

महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए ।

महोत्सवमा काभ्रेको भकुण्डेवेंशी क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन चलचित्रकर्मी निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरियो ।
महोत्सवमा चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

गाउँठाउँमा बनेका चलचित्रहरू गाउँमै बसेर हेर्न पाउँदा स्थानीयहरू हर्षित देखिन्थे । आयोजक संस्थाका अध्यक्ष सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने र मौलिक चलचित्रहरूलाई प्रवर्धन गर्न आफ्नो सक्रियतालाई रहने बताउनुभयो ।

महोत्सवको दौरान चलचित्र निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालले मास्टर क्लास समेत आयोजना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.