डायमण्ड म्युजिक अवार्ड २०८० आयोजनाको तयारीमा छौं: नमराज ढुंगाना, गायक

 

नमराज ढुंगाना नेपाली गीत संगीत क्षेत्रमा चिर परिचित नाम हो । सर्जक तथा गायक ढुंगाना साविक ढुंखर्क गाउँ पञ्चायत हाल बेथानचोक गाउँपालिका वडा नंं २ पाट्नेखोलामा वि.सं. २०३४ सालमा जन्मनुभएको हो । सांगितिक यात्रा २०५१ सालदेखि सुरु गर्नुभएको ढुंगानाले रेडियोमा २०५७ सालमा स्वर परिक्षा पास गर्नुभएको थियो ।

ढुंगाना राष्ट्रिय संगीतकर्मी संघको निर्वतमान वरिष्ठ उपाध्यक्ष, हाल राष्ट्रिय लोक सांगित प्रतिष्ठानको केन्द्रिय महासचिव हुनुहुन्छ । गीतसंगीतको हिसाबले बागमती संगीत, क्यापिटल एफएमको अध्यक्ष, रेडियो पर्यावरणसँग आवद्ध रहेर उहाँले काम गर्नुभयो ।

हाल एन एस म्युजिक प्रा.लि.को सञ्चालक सदस्य रही डायमण्ड म्युजिक अवार्ड २०८० आयोजनाको तयारीमा जुट्नुभएको छ । ढुंगानाले गाएका चर्चित गीतहरुमा फुल फुल्यो अमला, साथ छोड्यो छायाँले, आमाको काख प्यारो छ, एउटा चिनो लगायतका गीत संगीतहरु सर्वाधिक रुचाइएका छन् ।

विभिन्न संघसंस्था र अवार्डबाट सम्मानित ढुंगानासँग गीत संगीतको पेरिफेरिमा रहेर काभ्रेपोष्टसँग गरिएको कुराकानीको सारसंक्षेप:

Ο पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समय नयाँ नयाँ गीत संगीतको सिर्जना गर्दै सांगितिक क्षेत्रमा नै व्यस्त छु ।

Ο लोक संगीतको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
लोक संगीतको क्षेत्रमा बाल्यकालदेखि नै प्रवेश गरेको हुँ भन्ने लाग्छ किनभने म कृष्ण प्रणामी धर्म मान्ने परिवारमा हुर्किएँ । घरमा प्राय सांगितिक कार्यक्रम भइरहन्थ्यो । मेरो हजुरबुबाको पालाको हर्मोनियम छ । म त्यो हार्मोनियम बजाउँथे ।

विद्यार्थी जीवनमा पनि म गीतहरु गाउथेँ । रेडियो नेपालमा बजेका गीतहरु कण्ठ गर्ने, गाउने र गीतसंगीतको प्रतियोगिता हुँदा म सानै देखि सहभागि हुन्थेँ । मेरो बाल्यकालकै कक्षा ८ मा पढ्दा एउटा लोकदोहोरी कार्यक्रम भएको थियो जसमा मैले भाग लिएँ र दोस्रो स्थान हाँसिल गर्न सफल भएँ ।

मेरो सांगितिक यात्रा २०५१ सालबाट सुरु भएको हो । २०५७ मा मैँले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ । रेकर्डिङ्गको हिसाबले मेरो पहिलो एल्बम २०५३÷५४ मा निस्किएको थियो । ‘एकै नजर लाउँदैमा मन प¥यो हे कान्छी के छ विचार’ भन्ने गीत जसमा इन्दिरा गुरुङ, सीता थापा र मैले स्वर दिएको थिएँ ।

Ο सांगितिक क्षेत्रमा कत्तिको सफल भएको छु, भन्ने लाग्छ ?
सांगितिक क्षेत्रमा सफलतालाई कसरी लिने भन्ने कुरा हो । यस क्षेत्रमा लागेर आम्दानी गरि जीविकोपार्जन गर्छु भन्ने सुरुवाती दिनहरुमा पनि लागेको थिएन र अहिले पनि छैन । सेवा हो र आफ्नो क्षेत्र, भेगको गीत संगीतको लागि संस्थागत रुपमा अहिले पनि क्रियाशील भएर लागेको छु । सांगितिक क्षेत्रमा निरन्तर आफ्ना प्रस्तुतिहरु पस्किरहेको छु ।

Ο लोक संगीतको क्षेत्रमा पनि धेरै विकृति विसंगति छन्, यसको समाधानको लागि के गर्नुपर्ला ?
अवश्य पनि । एउटा व्यक्ति वा एउटा कलाकारले मात्र विकृत्ति रोक्छु भन्नु असम्भव कुरा हो । त्यसतर्फ राज्यको ध्यान जानु पर्दछ । संस्थागत व्यक्तिगत रुपमा लोक संगीतमा भएको प्रहार, यसमा आएका विकृति, विसंगितहरु विरुद्ध सांगठनिक रुपमा हामीले आवाज उठाइरहेका छौँ । यी सबै कुराहरुको चुरो समस्याको समाधानको लागि त्यसको संगीत विकास बोर्ड आवश्यक छ ।

दिनमा सयौँ गीतहरु रेकर्ड हुन्छन् । औसतमा ३० देखि ५० नयाँ गीतहरु प्रतिदिन सार्वजनिक हुन्छन् । वर्षमा ५० औँ अर्बका गीत निर्माण हुन्छन् । गीत तयार पार्दा सम्मको खर्च हेर्दा ठुलो कारोबार हुन्छ तर नेपाली गीतसंगीतको व्यवस्थापनको लागि संगीत विकास बोर्ड छैन । संगीत विकास बोर्ड गठनका लागि जोडदार माग गरेका छौँ ।

बोर्ड गठन भएमा विकृति फैलाउने गीतहरु सेन्सर भएर हट्छन् । नराम्रो सिर्जना पनि आउँदैनन् । त्यो हिसाबले पनि यसको समग्र लोकसंगीत क्षेत्रमा आएका यावत विकृति, विसंगति, कपिराइट लगायतका समस्याहरुको सबैभन्दा राम्रो समाधान नै संगीत विकास बोर्ड हो भनेर हामीले निष्कर्ष निकालेका छौँ । हामीले राज्यलाई पटक पटक माग गरेका छौँ ।

खुला बजार भएकाले विकृति, विसंगति रोक्न व्यक्तिको प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि सबैको हातेमालो आवश्यक छ । पहिला अडियो हुँदा अडियोमा सेन्सर लगाउन सकिन्थ्यो । अहिले घरमै बसेर गीत संगीत सिर्जना र गर्ने र युट्युब लगायतका सामाजिक सञ्जालमा प्रशारण गर्ने, घरमै बसेर रेकर्ड हुने सुविधा आइसकेको छ । विश्वव्यापी बनाउन सकिने व्यवस्था छ । त्यसकारण संगीत विकास बोर्ड नै यो समस्याको मुख्य समाधान हो भन्ने मैले बुझेको छु ।

Ο लोकगीत संरक्षण र सम्बर्धन गर्नका लागि के गर्न आवश्यक छ ?
लोकगीत लोकसंगीत संरक्षणका लागि आफू कहाँ जन्मिएँ, मेरो संस्कृति के हो ? म कुन भुगोलमा जन्मिएँ ? मेरो पुर्खाले संरक्षण गरेका चीजहरु केके हुन् ? यी सबै कुराहरु कलाकार आर्फैले सोच्नुपर्दछ । गीत संगीत सिर्जना गर्दाखेरि पनि आफ्नो भेग र आफ्नो मौलिकतालाई बिर्सनु हुँदैन ।

Ο तपाईंका भावी योजना के के छन् ?
यही वर्ष दशैंको आसपास रहेर एन एस म्युजिक प्रा.लिको आयोजनामा ५१ विधामा डायमण्ड म्युजिक अवार्ड २०८० गर्दैछौँ । तत्कालै एउटा म्युजिक अवार्ड आयोजना गर्दैछौँ । फाराम खुलिसकेको छ । कार्यक्रम आगामी दशैंको आसपासमा आयोजना गर्ने तयारी छ ।

काँठ क्षेत्र जन्मिएको हिसाबले विगतमा पनि काँठक्षेत्रको गीत संगीतलाई अगाडि बढाउन मैले राष्ट्रिय काँठे लोकसंगीत महोत्सव आयोजना गरेँ । त्यसमा काँठ क्षेत्रलाई मात्र प्राथमिकता दियो । अरु भेगलाई चाहिँ बिर्सियो भन्ने आरोप पनि लाग्यो । त्यस पछाडि मैले गत वर्ष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समेटेर लोकदोहोरी महोत्सव भनेर टाइटल दिएर त्यही कार्यक्रमलाई निरन्तरता दिएँ । यसपालि चाहिँ आर्थिक मन्दीको कारणले महोत्सव आँट्न सकिएन ।

Ο अहिलेसम्म कस्ता र कतिवटा गीतहरु गाउनुभयो ?

मेरा आफ्ना सिर्जनाहरु रेडियो र अडियोमा रेकर्ड भएका सिर्जनाहरु ३ सयको हाराहारीमा छन् । १ सय ५० जति मैले अरुलाई गाउन लगाएको छु । पछिल्लो समयमा डिजिटल बजार युट्युबमा ३५/४० वटा गीतसंगीतहरु रहेका छन् ।

Ο तपाईं यस क्षेत्रमा प्रवेश गर्दा र अहिले गीत संगीतको क्षेत्रमा के कस्ता भिन्नताहरु देख्नुभएको छ ?


पहिलाको गीत संगीत र अहिलेको गीतसंगीतको गुणस्तर र बजार व्यवस्थापनको हिसाबले आकाश पातालको फरक छ । हिजोका दिनमा रेकडिङ्ग हुँदा रेडियो नेपालमा मात्र रेकर्ड हुन्थ्यो । अलिकति हुने खानेले मुम्बई गएर रेकर्ड गर्थे । अहिले सजिलो छ । घरघरमा स्टुडियो छन् । हात हातमा क्यामरा छन् । त्यो हिसाबले पनि आफ्ना सिर्जनाहरु प्रस्फुटन गर्न र बजारमा ल्याउन सहज भएको छ । टिकटकमा सामान्य टिकटक १५–३० सकेन्डको गीत बनाएर पनि आफ्नो सिर्जना प्रचारप्रसार गर्न सकिन्छ । आफ्नो प्रतिभा छ भने निर्माता निर्देशक खोजीखोजी आउँछन् ।

विकास सँगसँगै विकृति भित्रिएका छन् । यद्यपी केही गर्छु भन्नेलाई ठुलो अवसर छ । मन परेको कलाकारसँग सहकार्य गर्न, सरसल्लाह आदानप्रदान गर्न इन्टरनेट र प्रविधिले सहज बनाइदिएको छ । पहिला धाएर जानुपर्ने हुन्थ्यो । बजार व्यवस्थापनमा पहिले र अहिले आकाश पातलको फरक छ । पहिला अडियो विक्री हुन्थ्यो । मनग्य कमाइ हुन्थ्यो । सुरुसुरुका कलाकारले राम्रो आम्दानी गर्न पपिन सफल भए ।

अहिले चाहिँ निःशुल्क सुन्नुस् भन्ने बेला आएको छ । अहिले विभिन्न प्लेटफर्मका माध्यमबाट दर्शक स्रोतासम्म पुग्न भने सजिलो भएको छ । अहिले रोयल्टी संकलन समाजको पहलमा गायक, सर्जकले रोयल्टी पाउने सुविधा आएको छ । लगानीकर्ता, सर्जक, निर्माता, गायकगायिका, कलाकारले थोरै भएपनि रोयल्टी पाउने वातावरण सिर्जना भएको छ । जुन सकारात्मक छ । पारदर्शी ढंगले रोयल्टी प्रदान गर्ने हो गीतसंगीतका सर्जक, कलाकार, निर्माताको आर्थिक अवस्था पनि थप मजबुत हुने विश्वास लिएको छु ।

Ο अन्त्यमा यो क्षेत्रमा लाग्ने नवप्रवेशी कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
यही क्षेत्रमा कर्म गर्छु भन्नेहरुले अलिकति बुझेर आउनुहोला । सोचेजस्तो छैन । बाहिरबाट हेर्दा चर्चा परिचर्चा र वाहवाही भएपनि अलिकति जिउन गाह्रो छ । स्थापित हुन पर्दछ । यहाँ दिनमा सयौँ गीत निस्कन्छन् । महिनामा हजारौँ । ८/१० वटाले मात्र सफलता हाँसिल गर्न सक्छन् । यस क्षेत्रमा लाग्न खारिएर आउनुपर्छ ।

नआत्तिकन, नमात्तिकन अगाडि बढ्छु भन्ने धारणाको विकास गरि आउनुहोस् भन्न चाहन्छु । सल्लाह सुझाव, समन्वय र सिकेर आउनुभएमा सहज हुन्छ । यसमा टिक्नु ठुलो कुरा हो । सुरुवातीमा १/२ वटा गीत नचल्ला । निरन्तर कर्म गर्दै जाँदा सिर्जनाको यावत पक्षको बारेमा जानकारी हुन्छ । तैरतरिका थाहा हुन्छ । कस्तो गीत निकाल्दा दर्शक स्रोताको मन जित्ने भन्ने थाहा पाउन सकिन्छ । नव कलाकारहरु आउनुस् । सिक्नुस् । अग्रजसँग सरसल्लाह लिनुस् । क्षणिक खहरेको भेल जसरी आएर फर्किने गरि चाहिँ नआउनुस् । यसैबाट आफ्नो परिचय बनाउँछु, यसैमा टिक्छु यसैमा दर्बिलो भएर अडिन्छु र यसैबाट जीविकोपार्जन गर्छु भन्ने दीर्घ संकल्प लिएर आउनुस् । भविष्य उज्वल छ । भन्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.