डेंगुको संक्रमण बढदैं, सजकता अपनाउन आवश्यक

वर्षा सुरु भएसँगै डेंगु संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ। डेंगु संक्रमण दर प्रत्येक वर्ष बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ।

यस वर्ष पनि वर्षा सुरु भएसँगै देशका धेरै स्थानमा डेंगु संक्रमित बढ्दै गएको छ। एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि संक्रमित बनाउन सक्छ।

सफा पानीमा यस प्रजातिका लामखुट्टेले अन्डा पार्ने भएकाले ग्रामीणभन्दा सहरी क्षेत्रमा यसको प्रकोप बढी रहेको विज्ञहरु बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गत वर्षको डिसेम्बर अन्त्यसम्म नेपालमा ५४ हजार ७ सय ८४ जना डेंगुका संक्रमित भेटिएका थिए। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४२ हजार ४ सय २८ जना संक्रमित थिए। त्यसपछि लुम्बिनी प्रदेशमा ५० हजार ३७ र कोसी प्रदेशमा २३ हजार ९ संक्रमित भएका थिए।

गत वर्ष डेंगुले महामारीकै अवस्था सिर्जना गरेको थियो। यस वर्ष पनि सतर्कता नअपनाउने हो भने गत वर्षकै अवस्था नहोला भन्न सकिन्न । यस वर्ष पनि वर्षा सुरु भए संगै तराईमा सुनसरी, मोरङ र झापा जिल्लामा दैनिक डेंगु संक्रमितहरू बढिरहेका छन्।

सुनसरीको धरानमा डेंगुका सबैभन्दा धेरै बिरामी देखिएका छन्। सतर्कता नअपनाउने हो भने यसले देशका धेरै जिल्लामा संक्रमण बढाउन सक्ने जनस्वास्थ्य बिज्ञहरू बताउछन।

बागमती प्रदेशमा पनि यो वर्ष डेंगुको संक्रमण देखिन थालेको छ। गत वर्ष राजधानीमै डेंगुले महामारीको रूप लिएको थियो। २०७९ असार १५ देखि २०८० माघ सम्म बागमती प्रदेशमा ४२ हजार ४ सय ५९ जना डेंगुबाट संक्रमित भएका थिए।

एक वर्षको अवधिमा सबैभन्दा धेरै काठमाडौंमा १४ हजार २ सय ६ जना, ललितपुरमा ९ हजार ७ सय ७९ जना, भक्तपुरमा ६ हजार १ सय ७० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको तथ्यांक छ।

यस वर्ष पनि जेठ १५ यता बागमती प्रदेशमा २ सय जना बढीमा डेंगुको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनायको छ। यसको संक्रमणलाई नियन्त्रण गर्न स्थानीय निकायहरुले समयमै उचित कदम चाल्नुपर्ने देखिन्छ।

समयमै जनचेतनामूलक कार्यक्रम संचालन गरेर अभियानकै रुपमा सरसफाइ र लामखुट्टे नष्ट गर्ने कार्यमा लाग्नुपर्ने देखिन्छ। पानीलाई जम्न नदिने, डेंगु संक्रमण रोकथामका लागि स्थानीय वडा, वडामा अभिया संचालन गर्ने, घर वरिपरिका खाल्डाखुल्डी पुर्ने, गाडीका टायरहरु मर्मत गर्ने स्थानहरुबाट यसको बढी फैलावट हुने भएकाले यस्ता ठाउँहरु पहिचान गरि नियन्त्रणमा लाग्न ढिला गर्नु हुदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.