बनेपाको नागरिक हुँ भनेर गर्व गर्न लायक बनाउँछौं: शान्तिरत्न शाक्य, प्रमुख बनेपा नगरपालिका

स्थानीय तह निर्वाचन २०७९ मा बनेपा नगरपालिकाको प्रमुखमा शान्ति रत्न शाक्य निर्वाचित हुनुभयो । बनेपा नगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष बितिसकेको छ ।

जनताबाट अनुमोदित भएर आएपछि एक वर्षमा नगरपालिकामा के कस्ता कामहरु भइरहेको छ ? आगामी दिनमा नगरपालिकालाई समृद्ध बनाउन, नगर सौन्दर्यीकरण गर्न र नगरमा रोजगारी सिर्जना गरी समृद्ध नगरपालिका बनाउन के कस्ता कार्ययोजना रहेका छन् ?

वर्षा याम लागेसँगै टड्कारो बन्ने बनेपा पुलबजार डुबान समाधानका विषका के कस्ता कामहरु भइरहेका छन् ? यिनै विविध विषयमा केन्द्रित रहेर काभ्रेको व्यापारिक नगरका नगरप्रमुख शाक्यसँग काभ्रे पोष्टले विशेष कुराकानीको सारसंक्षेप:

 Ο  निर्वाचन भएको एक वर्ष बित्यो । यो एक वर्षको अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

३० वैशाख २०७९ मा चुनाव भयो । जेठ ६ गते कार्यभार सम्हालेका थियौँ । आम मतदाताको घरदैलोमा जाँदा हामीले केही बाचा गरेका थियौँ । खानेपानी, शिक्षा सरसफाई र पुलबजार लगायतको क्षेत्र डुबानको समस्या जल्दोबल्दो थियो । यी समस्या समाधान गर्ने बचन मतदातासँग राखेका थियौँ । त्यसै अनुसार पहिलो दिनदेखि नै काम सुरू ग¥यौँ ।

दुई पटक खोला सफा ग¥यौँ । खानेपानी समस्या समाधान ४ महिना भित्र गर्ने भनेका थियौँ । तीन महिनाभित्र पानी ल्याइयो तर पाइपलाइन, वितरण लाइन र मुख्य पाइपलाइनमा पनि धेरै भएर समस्या देखियो । यद्यपि, कुनैपनि हालतमा खानेपानी खुवाउनुपर्छ भन्ने दृढ विश्वास भएकाले हामी वैशाख १२ गतेबाट सञ्चालनमा ल्याएका छौँ ।

वितरण लाइनमा अझैपनि ठाउँठाउँमा लिकेजको समस्या छ, त्यो समाधानको काम पनि अगाडि बढाएका छौँ । नगरको ‘कोर’ क्षेत्र भित्र भएको पानीको समस्या निराकरण गर्ने लक्ष्य लिएका छौँ ।

शिक्षामा २५ वर्ष अघि नै पूर्ण साक्षर नगरकोरुपमा घोषित भएको थियो । अब शैक्षिक गुणस्तरको लक्ष्य लिएर हिँडेका छौँ । साक्षरता ८५ प्रतिशतमा झरेको छ । यसलाई उकास्ने प्रयास गरिरहेका छौँ ।

नगरमा सामुदायिक विद्यालयको गुणस्तर विकास गर्नका लागि प्रयासहरु गरिसकेका छौँ । यस वर्ष ४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना छ । बजेट पनि निकासा भएको छ ।

स्वास्थ्यमा पनि नगरले काम गरिरहेको छ । नगर अस्पतालको केही समयमअछि उद्घाटन गरेका छौँ । त्यो पनि विस्तार हुँदैछ । प्रत्येक वडामा वडा क्लिनिक सञ्चालन भइसकेको छ । हामीले हामीसँग भएको ४÷५ वटा ठूला–ठूला अस्पताल छन् ।

शिर मेमोरियल, अपांग, रेयुकाई आँखा अस्पताल, स्पाइनल लगायतका अस्पतालसँग सहकार्य गरेर काम गरिरहेका छौँ । क्यान्सर हस्पिटलसँग सहकार्य छ । शिरमेमोरियलमा हाम्रो मातृ शिशु सम्बन्धि कार्यक्रम छ । स्पाइनलमा पनि १८ वर्षसम्मका बालबालिकाको उपचारमा सहयोग गरिरहेका छौँ ।

बनेपा बुडोल स्थित रेयुकाई आँखा अस्पतालमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्न आर्थिक स्रोत उपलब्ध गराएका छौँ । र, भौतिक पूर्वाधारको क्षेत्रमा पनि काम तीव्र गतिमा अगाडि बढाएका छौँ ।

 Ο  कोर क्षेत्रमा डुबानको समस्यालाई कसरी लिनु भएको छ ?
पुल बजार लगायत बनेपा बजार डुबानको समस्यालाई समाधान गर्न खोला सफा गर्ने कार्य हामी भर्खर मात्रै सम्पन्न ग¥यौ । यो समस्या दीर्घकालीन रुपमै समाधानका लागि हामी आगामी दिनमा काम गर्दै अघि बढ्नेछौँ ।

 Ο  नगर भित्रको सडक स्तरोन्नति कहिलेसम्म हुन्छ ?
धेरै बाटाहरू निर्माण गर्ने योजना छ । तर, यति नै किलोमिटर भनेर वास्तविक डाटा छैन । प्रत्येक दिन नयाँनयाँ बाटो बनाउँदै छौँ । मुख्य बाटोहरुमा कालोपत्रे गर्ने ग्राभेल गर्ने योजना अगाडि बढाएका छौँ । बनेपाबाट नाला, नालाबाट काक्रेसम्मको बाटो बनिसकेको छ ।

बनेपाबाट घिमिरे गाउँ हुँदै नगरकोट पुग्ने बाटोमा काम गरिसक्यौँ । करिब १ किलोमिटरभन्दा बढी नगरकोटको बाटोमा ग्राभेलिङ गरिसकेको छ । नगरकोको टावरसम्म पुग्न जम्मा १० किलोमिटरको दुरीमा छ । अन्य बाटोबाट ३० देखि ४० किलोमिटर हिँड्नपर्छ । त्यो बाटो प्राथिमिकतामा छ ।

बासडोलको बाटोमा केही बाधा अड्चन छन् । ठेकेदारको कारणले काम पूरा भएको छैन । साँगा आशापुरीको बाटो बन्दै छ । त्यो ढलान हुँदै छ । अर्को महत्वपूर्ण योजना अरनिको राजमार्ग हो, त्यो पनि बन्दै छ । अघिल्लो नेतृत्वले पनि अरनिको राजमार्ग बनेपा पुलबजारदेखि बुडोलसम्म ग्राभेलिङ पिच गर्ने भन्ने कुरा थियो । त्यस विषयमा डिभिजन सडक कार्यालय भक्तपुरसँग पनि नियमित छलफल भएको थियो ।

 Ο  नगरलाई सुन्दर हराभरा बनाउन कस्तो नीति तथा योजना बनाउनु भएको छ ?
पुलबजारदेखि बुडोलसम्म घना जनसंख्या भएको क्षेत्र हो । यो विकसित ठाउँपनि हो । यसमा गएको वर्ष नै हामीले सौन्दर्यीकरण गन वृक्षारोपण गर्ने, फुटपाथ व्यवस्थापन गर्यो । फुटपाथ मान्छे हिँड्ने मात्र नभई पसल राख्ने ठाउँ जस्तो देखिएको थियो । यसलाई समाधान गर्न सफल भएका छौँ ।

 Ο  तर, फुटपाथ समस्या पूर्ण समाधान नभएको गुनासो सुनिन्छ नि ?
समय अनुसार व्यवस्थापन गरेका छौँ । व्यापारीलाई पनि सहज होस् भनेर बिहान ८ः३० बजेसम्म र बेलुकीको समयमा ६ बजेपछिको समय दिएका छौँ । कार्यालय समयमा फुटपाथ पसल राख्न दिएका छैनौँ ।

रात्रीकालीन समयमा हामीले १ हजार भन्दा धेरै सडक बत्ती राखिसकेका छौँ । बुडोलदेखि भैसेपाटी साँगसम्मको ठाउँमा सम्भव ठाउँमा सडक बत्ती राखिएको छ । मुख्य मुख्यबाटो भएको स्थानमा १४ वटै वडाको विभिन्न स्थानमा सडक बत्ती जडान गरेका छौँ । प्रत्येक वडामा बत्ती जोडिसकिएको छ । तर, सीमित बजेटले काम गर्नुपर्ने भएकाले एक वर्षभित्र सम्भव भएन ।

सरसफाई नियमित रुपमा भइरहको छ । सहरमा फोहोर नियमित व्यवस्थापन गर्न नसक्दा थुप्रिने गरेको थियो । यो समस्या समाधान भएको छ । फोहोरको नियमति व्यवस्थापन भएको छ । फोहोरलाई बाहिर निकाल्न रोक्यौँ । तरकारी उत्पादन गर्नका लागि किचेनबाट निस्कने जैविक फोहारेरको उचित व्यवस्थापनका लागि हामीले कम्पोस्ट मल बनाउने काम ग¥यौँ ।

साँगा क्षेत्रबाट अरनिको राजमार्ग विस्तारको काम सुरु भइसकेको छ । यो योजना भदौबाट सुरु हुने योजना छ । यो २ देखि ३ महिनाको समयमा सकिन्छ ।

 Ο  सडक विस्तारमा समितिहरूसँग समन्वय भएको छ कि छैन ?
बनेपाको कोर क्षेत्रमा भाद्रबाट सडक विस्तार गर्ने भनिएको छ । उहाँहरुको योजना अनुसार समन्वय राम्रो छ । हामीले अनुरोध पनि गरेका छौँ । यो क्षेत्रमा काम गर्दा लथालिङ्ग हुने देखिएको छ । सबै खनिसकेपछि बजार नै विस्थापित हुने देखिन्छ । गाडी रोक्ने ठाउँ हुँदैन । गाडीमा सामान लोड र अनलोड गर्ने कुरा आउँछ, त्यही हुन नपाएपछि कसरी व्यापार गर्नु ?

त्यो एक दुई वर्ष होला , अहिले भएको खानेपानी पाइपलाइन, ढलको नाली सबै उखेलिने छ । त्यसको व्यवस्थापनका लागि कठिन हुने देखिन्छ । अहिलेको योजनामा पाइपलाईन जस्तो निकालेको छ त्यो त राखिदिनुहुन्छ । बनाउने समयसम्म अस्तव्यवस्त हुने देखिएको छ । सकेसम्म त्यसलाई न्यूनीकरण गर्न साइडमा ड्रेन र ढल बनाइदिन आग्रह गरेका छौँ ।

 Ο  चुनावमा रोजगारी सिर्जनालाई प्राथमिकता दिने भन्नु भएको थियो । बेरोजगार समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ? युवालाई स्वरोजगार बनाउने योजना के छ ?

नगरबासीलाई स्वरोजगार बनाउने हाम्रो लक्ष्य हो । त्यसको लागि कार्यक्रम अगाडि बढिसकेको छ । शैक्षिक क्यालेन्डर अनुसार एसईई पास गरेपछि प्लस–टु स्नातक गर्दै जानुहुन्छ ।

तर, सिप विकासको लागि खासै त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्दैन । एक विद्यार्थीले आफ्नो जीवन जिउन सक्ने शिक्षा र सिप दिनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । उसले ३ महिने ६ महिने तालिम लियो भने सिपको प्रयोग गरि जीवन निर्वाह गर्न सक्छ ।

विशेष सिप भएका जनशक्ति तयार गर्ने काम गरिरहेको छौँ । अटोमोबाइलको मेकानिक्स अभाव देखिएको छ । जसमा हाम्रा स्थानीयभन्दा पनि बाहिरका मानिसहरु बढी संलग्न छन् । यसमा तालिम दिने योजना छ । यस्ता कामहरु हामीले बनेपाका पोलिटेक्निकसँग सहकार्य गरि अगाडि बढेका छौँ ।  कफी बनाउने तालिम पनि  दिएका छौँ ।

 Ο  नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कसरी अघि बढ्नेछन् ?
शिक्षा, स्वास्थ्य, रोजगार, खोनपानी, फोहोर व्यवस्थापनको नियममित काम हुनुपर्दछ । संघ र प्रदेशबाट हामीलाई बजेट कटौती भएको छ । बनेपा नगरपालिका व्यापारको हब हो । अरनिको राजमार्ग र विपी राजमार्ग दुई राजमार्गको संगम भएको हिसाबले हामीले व्यवस्थापन गर्नुपर्र्ने छ । चीनकोे सीमा खुलेसँगै ठूला–ठूला सवारीको चाप बढ्ने निश्चित छ । पूर्वतिरका साना ठूला गाडीहरु यहीबाट जाने गर्दछ ।

पार्किङको समस्या छ । पार्किङ्गको निर्माण गर्नु पर्ने छ । भोलिका दिनमा सडक विस्तार भएपछि पनि अहिलेको जसरी पार्किङ्ग गर्न सम्भव छैन । त्यसको व्यवस्थित गर्न पार्किङ्ग बनाउने विषयमा नगर विकास कोषसँग छलफल भइसकेको छ । डिजाइन र डीपीआरको काम हुँदैछ ।

नगरपालिकाले बसपार्कको छेउमा भएको जग्गामा करिब १०० बटा गाडी पार्किङ्ग गर्न मिल्ने गरि काम गर्दैछौँ । भोलिका दिनमा समस्या बाइपासको हुन सक्छ । नियमित ठूला गाडी गुड्ने ट्रक आयो भने पूर्णरुपमा नाका खुल्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिने निश्चित छ । जसको समस्या समाधान गर्न बनेपाको करिडिोरलाई प्रयोगमा ल्याएर व्यवस्थापन गर्नुपर्ने छ ।

नागरिक शिक्षित भएनन् भने नारा जस्तो दिएपनि नगर विकास हुन सक्दैन । शिक्षामा हाम्रो फोकस छ । हिजो, आज र भोलि पनि शिक्षाको विकास नै हाम्रो प्राथमिकता हो । विद्यालयमा अपेक्षित नतिजा आएमा हामी नमुना विद्यालयको संख्या थप्दै जाने योजना छ ।

बनेपा नगर क्षेत्रमा सरकारी अस्पताल छैन । सरकारको नियम सरकारले लागु गरेको स्वास्थ्य बिमाको काम गर्न महिनौँ लाइनमा बस्नुपर्ने अवस्था छ । नगर अस्पताल सुरु भएकाले बिमा पनि यहीबाट गर्ने र सेवा थप गरि सुचारु गर्ने अभियानमा लागि परेका छौँ ।

हामीले मुटुको क्लिनिक पनि सुरु गरेका छौँ । लायन्स क्लब र सहयोगी संस्थाको सहयोगमा मुटुको जाँच सुरु भइसकेको छ । डायलाइसिस मेसिन ल्याउने योजना छ । बनेपा मै मेसिन ल्याउन संघीय सरकारसँग माग गरेका थियौँ । अहिलेको स्वास्थ्य मन्त्रीलाई २–४ वटा मेसिन दिएर सहयोग गर्नुप¥यो भनेका छौँ । डायलाइसिस सेवा सम्भव भयो भने नगर अस्पतालबाट नत्र अन्यत्रबाट भएपनि नगरबासीलाई सेवा दिने योजना छ ।

 Ο  नगरको मुख्य चुनौती के देख्नु हुन्छ ?
मुख्य चुनौती नै खोनपानीको छ । व्यवस्थापन गर्न अप्ठ्यारो परिरहेको छ । काभ्रे एकीकृत खानेपानी योजना अलपत्र परेको छ । पुरानो पाइपलाइन व्यवस्थित भएकाले मात्रै खानेपानी दिन सकिएको छ । एकीकृत बिच्छ्याएको पाइपलाइनमा पानी पुग्न सकेको छैन । जसरी भएपनि नगरबासीलाई खानेपानी पु¥याउने योजना छ ।

 Ο  प्रदेश र केन्द्रसँग विकासका काममा समन्वय गर्न कतिको कठिन छ ?
हामीलाई सजिलो छ । हाम्रो क्षेत्रबाट जित्ने माननीयहरुले पनि समन्वय गरिरहनु भएको छ । काभ्रेकै तिर्थ लामा बागमती प्रदेशको मन्त्री बन्नुभयो । नजिकबाट हाम्रो सम्पर्क भएकाले सजिलो छ । आफैँ गएर मन्त्रालयमा समन्वय गर्नुपरको छैन । उहाँ मार्फत हाम्रो समस्याको समाधान भइरहेको छ । हाम्रो माननीयहरुले सहजतापूर्वक काम गरिदिनुहुन्छ ।

 Ο  कला संस्कृतिले भरिएको नगर हो, यसमा के–के काम भए ?
बनेपामा बस्नेलाई नालाको नालामा बस्नेलाई साँगाको संस्कृति पूर्ण रुपमा जानकारी छैन । जुनसुकै वडाको वा क्षेत्रको भएपनि म बनेपाको हो भनेर गर्व गर्न सक्ने ठाउँमा पुऱ्याउने हो । यसका लागि नगरपालिका टिम लागेको छ ।

नगरपालिका भित्रका जात्रा लगायतका पर्वमा आर्थिक रुपमा, बौद्धिक लगायतका व्यक्तिगत रुपमा पनि हरेक ठाउँमा सहभागि भएका छौँ । त्यसले मात्र हामलाई पुग्दैन । हामीसँग भएका सम्पदाहरुलाई जोगाउने प्रयासमा छौँ । पुरान सम्पदा बिग्रको भत्केको भएपनि त्यसको संरक्षणमा लागेका छौँ । जसको लागि पुरातत्व विभागसँग समन्वय गरिएका छौँ । त्यसलाई जोगाउन नगरपालिकाले आर्थिक सहयोग गरिएको छ । पुराना बाजागाजा लोप हुने अवस्थामा पुगेको छ । पहिला चण्डेश्वरीको जात्रामा कपालीहरुले बजाउने बाजा बजाउन सकिएन । संम्पदा संस्कृति बचाउनका लागि प्रशिक्षण दिने योजनामा छौँ ।

 Ο  बनेपा कृषिको हब हो, कृषिसँग नगरपालिका कसरी जोडिएको छ ?
बनेपाको मुख्य क्षेत्र कृषिमा आधारित छ । उहाँहरुको सामग्री बिक्री वितरण गर्न र जीवन उकास्न केन्द्र निर्माण गर्नुपर्छ । बिचौलिया मार्फत जाँदा कृषकले धेरै फाइदा लिन सकेको छैन । त्यसका लागिे हाटबजार बनाउने सञ्चालन गर्ने योजना बनाएका छौँ ।

कृषि उपज र घरेलु उद्योगबाट उत्पादित सामग्री प्रदर्शनी, बिक्री वितरण गर्नका लागि के गर्न सकिन्छ भनेर अगाडि बढिरहेका छौँ । नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने भएकाले एक वर्षमा योजना सफल नभएपनि अर्को वर्षहरुमा निरन्तरता दिँदै जान्छौँ । आफूले बोलेको र बाचा गरेका कुराहरु पाँच वर्षसम्म पूरा गर्छौं ।

 Ο  अन्य पालिकासँग कस्तो सम्बन्ध छ ?
बनेपा, धुलिखेल र पनौती नगरपाकिला मिलेर दुई तीन वटा परियोजना संयुक्त रुपमा गर्दैछौँ । यसभन्दा अगाडि काभ्रे एकीकृत खानेपानी आयोजना सुरु भएको थियो ।

हिजोको दिनमा सम्पन्न हुन नसकेकोले त्यसको जिम्मेवारी हामीलाई छ र यसमा हामी तीनवटै नगरपालिकाका प्रमुख पटकपटक बैठक बसेका छौँ । त्यसलाई टुङ्गोमा पु¥याउन लागि परेका छौँ । हाम्रो समस्या फोहोरमैलाको छ । अहिले हामीले पूर्वाधार लगायतको सम्पूर्ण क्षेत्रमा संयुक्त काम गर्नु आवश्यक छ ।

फाहोरमैला व्यवस्थापनको सन्दर्भमा धुलिखेलमा तीनवटै नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धि कार्य गर्ने भनी डीपीआरको काम भइरहेको छ । सडकतर्फ पनौती, बनेपा र धुलिखेललाई जोड्ने करिडोर सडक विस्तारको काम पनि गर्न खोजिरहेका छौँ ।

आइटी पार्क नजिकैको क्षेत्रलाई व्यापारिक प्रदर्शनी स्थलको रुपमा विकास गर्ने सोच छ । त्यस क्षेत्रमा पार्किङ्गको सम्भावना देखिएको छ । बनेपा संगम स्थल भएकाले भविष्यमा आउने पार्किङ्ग चुनौतीलाई समाधान गर्न पनौती र धुलिखेलका नगरप्रमुखसँग कुराकानी भइरहेको छ ।

नगरपालिकाले आगामी पाँच वर्षभित्र यातायात र व्यापारको मात्र नभई पर्यटकीय स्थलको रुपमा विकास गर्छु भन्ने संकल्प छ । बनेपा भित्र रहेको नगरकोट जाने गुणस्तरीय सडक बनाउने योजना छ । भौतिक पूर्वाधार व्यवस्थापनका लागि नीजि क्षेत्रलाई आह्वान गर्ने र २०८२ लाई नगरकोट भ्रमण वर्ष कार्यक्रम ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । मण्डनदेउपुर, बनेपा, शंकरापुर र चागुनारायण नगरपालिकाको संगम नगरकोटलाई पर्यटकीय हिसाबले अगाडि बढाउन सके बनेपाको समृद्धिमा टेवा पुग्ने विश्वास लिएको छु ।

 Ο  अन्त्यमा नगरबासीलाई के भन्नु हुन्छ ?
निर्वाचित भएर आएको वर्षदिन पुगिसकेको छ । हामी काम गर्छौ निराश नहुनुहोस् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका यावत् क्षेत्रमा सम्भव भएजतिका काम गरिरहेका छौँ । एक वर्षमा सबै बाचा पूरा भएका छैनन् । बनेपालाई राम्रो र बस्न लायक बनाउँछौँ । म बनेपाको नागरिक हुँ भनेर गर्व गर्न लायक नगरपालिका बनाउने संकल्प छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.