कवि नवराज लम्साल सम्मानित

काठमाडौं । कवि नवराज लम्साल नगदसहित सम्मानित भएका छन् ।

लम्साल १ लाख नगदसहित ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९’ द्वारा सम्मानित भएका हुन् ।

पुरस्कार भगत सर्वजीतको नाममा नेपाल सरकारले स्थापना गरेको हो ।

भगत सर्वजीत राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका लागि लामो सङ्घर्ष गरेका व्यक्ति हुन् ।

उनलाई नेपाली दलित आन्दोलनको प्रणेता समेत मानिन्छ । वनारसबाट संस्कृतमा आचार्य गरी फर्केका भगतलाई दलित भनेर समाजले गरेको अपहेलनाविरुद्ध उनले शालीन विद्रोह गरेका थिए ।

समाजले उनको त्यो विद्वत्ताको प्रयोग गर्न नदिएको र अभिव्यक्तिमा बन्देज लगाएका कारण मानव मर्यादाका लागि उनी विद्रोहमा उत्रिएका थिए ।

उनको सम्झना र सम्मानमा २०७२ वैशाख ५ गतेको निर्णयअनुसार नेपाल सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

समाज सुधार अभियान, मानव मर्यादा र मानव अधिकारको क्षेत्रमा योगदान गरेका ३ जना व्यक्तिलाई हरेक वर्ष एक एक लाख रुपियाँ सहित यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

२०७९ को पुरस्कार कवि लम्सालका साथै मैना अछामी र चक्रमान विश्वकर्मालाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.