धुलिखेल–खावा सडकखण्ड यात्रुका लागि सास्ती

धुलिखेल । अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल खावा सडक खण्ड यात्रुका लागि सास्ती बनेको छ । दुईपांग्रे सवारी साधन र पैदल यात्रुका लागि त उक्त सडकखण्ड जोखिमयुक्त नै बन्दै गएको छ ।

सडक समयमै निर्माण नहुँदा धुलो, हिलो र खाल्डोले यात्रा गर्नै मुस्किल बनेको छ । उक्त सडकखण्डमा ठूला–ठूला खाल्डो जताततै भएकाले यात्रा कठिन हुने गरेको छ । सम्बन्धित निकाय मौन छन् भने ठेक्का प्राप्त व्यवसायीले काममा ढिलासुस्ती गरेको पाइएको छ ।

उक्त सडक खण्ड ४ किलोमिटर मात्र भएपनि ठुलठुला खाल्डा हिलो र धुलोले यात्रा कठिन हुन पुगेको छ । वर्षायाममा हिलाम्मे र घामलाग्दा धुलाम्मे धुलिखेल खावा सडकखण्ड विस्तारको कामले गति लिन नसक्दा यात्रुहरु पीडित बन्न पुगेका छन् ।

दैनिक हजारौँ साना ठुला सवारी साधन आवतजावत हुने उक्त सडक खण्ड व्यवस्थित हुन नसक्दा यात्रु र चालकले पाउने सास्ती बढेको छ ।
उक्त सडकखण्ड निर्माणको काममा ढिलासुस्ती भएको जनगुनासो पटक पटक नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा आउने गरेको छ ।

उक्त सडकखण्ड स्तरोन्नतिको लागि गौरी पार्वती निर्माण सेवा प्रा.लिले ठेक्का हात पारेको हो । निर्माण कम्पनीले यही साल चैत १९ गतेभित्र निर्माण सकाउनुपर्ने सम्झौता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.