काठमाण्डौँ विश्वविद्यालयमा उत्कृष्टलाई रोजगारी

धुलिखेल । काठमाण्डौ विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत रही स्नातक उत्तीर्ण विद्यार्थीलाई रोजगारी दिने नयाँ योजना सार्वजनिक गरेको छ । सो सँगै रोजगारीका लागि उत्र्तीण विद्यार्थीहरुको नाम पनि विश्वविद्यालयले सार्वजनिक गरेको छ । २८ औँ दिक्षान्त समारोहबाट स्नातक तहमा उत्कृष्ट अंक ल्याएर उत्र्तीण गरेका विद्यार्थीलाई रोजगारी प्रदान गरिएको हो ।

विश्वविद्यालयले एक सूचना निकाल्दै ६ जना विद्यार्थीलाई रोजगारी दिन लागेको हो । काठमाडौं विश्वविद्यालयका प्राज्ञिक औधोगिक संयोजक डा. राम लामाले उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई रोजगारी दिन लागेको बताउनुभयो । सूचनाको ७ दिन समयभित्र विद्यार्थी विभागमा उपस्थित भएपछि रोजगारीमा नियुक्त गर्ने डा. लामाले बताउनुभयो ।

विश्वविद्यालयमै ५ जना र विश्वविद्यालयको प्राइभेट कम्पनीमा एक जनालाई रोजगारीको अफर दिन लागिएको हो । विश्वविद्यालयको अफिस असिस्टेन्टका लागि प्रज्वल रसाइली र श्रीफालिका ढकाल, जियोमेटिक्स इन्जिनियरमा जेनिस गौचन, मेकानिकल इन्जिनियरमा उपमा पन्त, रसायन इन्जिनियरमा मनिष शर्मा तिमल्सिना र वातावरण इन्जिनियरमा रुपेश कैनीलाई रोजगारीको अवसर दिइएको हो ।

विश्वविद्यालयले विद्यार्थीसँग रोजगार कार्यक्रम अन्तर्गत उत्कृष्ट विद्यार्थीलाई केयुभित्रै रोजगारको अवसर प्रदान गरेको हो । काठमाडौं विश्वविद्यालय रोजगारी प्रवर्धन कार्यविधि २०२३ पारित भएसँगै कार्यक्रम संस्थागत रुपमा अगाडि बढाइएको हो ।

सो कार्यक्रम अन्तर्गत ५० भन्दा धेरै स्नातक उत्र्तीण विद्यार्थीले रोजगारी पाउने जनाइएको छ । उक्त कार्यक्रमका लागि विश्वविद्यालयले ४ करोड बजेट समेत विनियोजन गरेको छ ।

सो कार्यक्रम अन्तर्गत काठमाडौं विश्वविद्यालयको प्राज्ञिक, औधोगिक सहकार्य विभागले विद्यार्थीलाई एक वर्षसम्म रोजगार प्रदान गर्ने जनाएको छ । काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुने विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका लागि सो कार्यक्रम लागु गरिएको विश्वविद्यालयले जनाएको छ ।

कार्यविधि अनुसार विश्वविद्यालय भित्रै अथवा स्वदेशका विभिन्न रोजगारदाता नीजी कम्पनीले विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिलाई रोजगारीको अवसर दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.