माइनिङ्ग इन्जिनियरिङ्ग पढाउँदै केयु, सम्भावना धेरै, विद्यार्थी थोरै

धुलिखेल । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पल्ट माइनिङ्ग इन्जिनियरिङ्ग पढाउने भएको छ । यही आ.व.बाट अध्ययन अध्यापन सुरु गर्न भर्ना समेत खुला गरिसकेको छ ।
नेपालको परिप्रेक्ष्यमा एकदमै स्कोप भएको खानी क्षेत्र र यसको खोज अनुसन्धानको विषयमा विद्यार्थीहरुको रुचि वा यस विषयमा जानकार नभएर विद्यार्थीहरु कम भर्ना भएको केयुले जनाएको छ ।

खानी र खानीजन्य पदार्थको महत्व, उपयोग एवं शैक्षिक खोज र समृद्धिका निम्ति माइनिङ्ग (खानी) इन्जिनियरिङ्ग विषयमा गोष्ठी सम्पन्न भएको छ ।

केयुले सुरुवाता गरेको नयाँ चारवर्षे कार्यक्रम माइनिङ्ग इन्जिनियरिङ्गमा भर्ना भई अध्ययन गर्न केयुले सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

एक दिने कार्यशालालाई सम्बोधन गर्दै उपकुलपति डा. भोला थापाले उच्च शिक्षाका लागि विद्यार्थीले देश छाड्ने ट्रेन्ड उपकुलपति, सांसद एवं प्रधानमन्त्रीको लागि समेत सोचनिय विषय भएको बताउनुभयो । उहाँले खानी पूर्वाधारसँग सम्बन्धित भएकोले महत्वपूर्ण भएको बताउनुभयो ।

नेपालमा खानी सञ्चालन गर्दा पर्यावरणीय सुन्दरतालाई ख्याल गर्नुपर्ने उपकुलपति थापाको भनाई थियो । पर्यटकहरु नेपालको पर्यावरण अवलोकन गर्न आउने हुँदा यसको संरक्षण पनि आवश्यक रहेको थापाले तर्क गर्नुभयो । युवा पुस्तालाई देशमै टिकाएर राख्नु आजको मुख्य चुनौती भएको थापाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकार खानी तथा भुगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरेले टुथपेस्टदेखि मोबाइल फोनसम्म खानीजन्य पदार्थबाट बन्ने बताउनुभयो । खानीजन्य पदार्थ उत्खनन्को लागि माइनिङ्ग (खानी) इन्जिनियरिङ्ग को आवश्यकता पर्ने डिजी घिमिरेले बताए । ‘नेपालमा ६३ खनिज पदार्थ पत्ता लागेकोमा चुनढुङ्ग र निर्माण सामग्री सहित १६ वटाको विकास भइसकोको छ’ उनले भने, ‘निर्माण सामग्रीबाट सरकारले वर्षेनि ७ अर्ब राजस्व संकलन गर्दै आएको छ ।’ यदि नेपालमा उपलब्ध खानीको समुचित उपयोग गर्न सकेमा वार्षिक १३ खर्ब खनिज पदार्थ वर्षेनि निर्यात गर्न सकिने घिमिरेको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमले नेपालको समृद्धिको लागि खानी, कृषि र पर्यटन मुख्य आधार भएको बताए । अझ काभ्रे जिल्लाको हकमा समृद्धिको मुख्य आधार नै खानीजन्य पदार्थ रहेको र जिल्लाको खानीखोला गाउँपालिका सबैभन्दा धेरै सम्भावना बोकेको गाउँपालिका भएको गौतमले दाबी गरे । साथै गौतमले जिल्लामा स्थापित विश्वविद्यालयमा १३ वटै स्थानीय तहबाट कम्तीमा १÷१ जना विद्यार्थी भर्नाको व्यवस्था गर्न स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा केयुका सिभिल इन्जिनियरिङ्ग विभाग प्रमुख श्याम सुन्दर खड्काले सरकारलाई खानी इन्जिनियर आवश्यक रहेको बताए । खड्काले केयुले नेपालमा पहिलोपल्ट माइनिङ इन्जिनियरिङ्ग सुरुआत गरेको तर अन्य विषयमा जस्तो विद्यार्थी नभएकाले भर्ना भई अध्ययन गर्न आग्रह गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल इन्जिनियरिङ्ग परिषदका भाइस चेयरम्यान विकास अधिकारीले कोरोना पछि प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या कमी भएको बताए । देशमा उपयुक्त शैक्षिक संस्था हुँदाहुँदै पनि टिक्न नसक्नु रोजगारीको कारणले भएको चर्चा गर्दै स्नातक उतीर्ण केही विद्यार्थीहरुलाई केयुले रोजगारीको व्यवस्था गर्नु सकारात्मक कदम भएको बताए । यद्यपि उत्पादित शतप्रतिशत विद्यार्थीलाई देशमै रोजगारी दिनेगरि अघि बढ्नुपर्ने अधिकारीले बताए ।

काठमाडौं विश्वविद्यालय र अष्ट्रेलियाको एक कलेजको सहकार्यमा अध्यापन गर्ने सहमति हुनु सकारात्मक भएको अधिकारीले बताए । काठमाडौ विश्वविद्यालयले गण्डकी विश्विद्यालयसँग समेत माइनिङ्ग इन्जिनियरिङ्ग विषय पढाउन सहकार्य गरेको जनाएको छ ।

कार्यक्रममा खानी तथा भुगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, स्थानीय तहका प्रमुख उपप्रमुख, प्रजिअ पुण्यविक्रम पौडेल, विश्वविद्यालयका पदाधिकारीहरु, सञ्चारकर्मी एवं सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.