रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरी फन्दामा

रोशी । रोशी गाउँपालिकाको वडा न ५ डुमल स्थित एक घरमा चोरी भएको छ । रातको ११ः३० बजेको समयमा आपराधिक नियतका तीन जनाको समुहले रड लगायतका घरेलु हतियारले आक्रमण गर्दै सुन र नगद लुटेर भागेका थिए । स्थानीय कामीसिं लामाको घरमा पसी निजहरुको मुखमा खादा बाधी लुटेर भागेका थिए ।
भाग्दै गर्दा रोशी गा.पा.वडा नं. ०६ नावल बस्ने चक्र बहादुर लामाको छोरा वर्ष २८ को बिजय लामा र रोशी गा.पा. वडा नं. ०८ खर्पाचोक बस्ने छेडुप लामाको छोरा वर्ष २४ को राजन तामाङलाई स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
साथै डकैतीमा संलग्न माहाभारत गा.पा. ०३ फोक्सिङटार ठाडे बस्ने धन बहादुर मोक्तानको छोरा अन्दाजी वर्ष २६ को राजेश लामा र पाँचखाल नगरपालिका वडा नं. नखुलेको २५ वर्षको कुमार लामा फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । फरार रहेका ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने ब्यक्तिहरुबाट प्रहरीले प्र.३–०२–०१४ प ३५१९ को रातोकालो मोटरसाइकल र . – बाग्मती प्रदेश ०२–०३७ प ६११५ नं. को रातोकालो रङ्गको स्कुटर समेत नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मोटरसाइकल र स्कुटरका चालक राजन तामाङ र बिजय लामा भए पनि सवारी चालकको धनी भने उनीहरुको दाइ रहेको पाइएको छ । लामाको घरबाट कति नगद र सुन चोरी भयो भने एकिन नभईसकेको प्रहरीले बताएको छ । हाल घाइते धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी माथी कार्बाहीको माग गरेका छन् । स्थानीयहरुले समेत दोषीमाथि कडा सजायँको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.