शिक्षित जनसंख्या वृद्धि, शिशु स्तनपानमा कमी !

धुलिखेल । शिक्षित जनसंख्या वृद्धि भए पनि शिशुको स्तनपानमा कमी देखिएको छ । शिक्षित वर्ग बढेपनि त्यसको तुलनामा पूर्ण स्तनपान गराउने महिलाहरुको संख्या घटेको तथ्याङ्कले देखाएको छ ।

NDHS,2022 को तथ्याङ्क अनुसार सबैभन्दा धेरै साक्षरता दर भएको बागमती प्रदेशमा ४३% शिशुले दुधदानीबाट दूध खाने गरेको पाइएको छ । नेपालमा ५५% शिशुलाई जन्मेको १ घण्टा भित्र, ५६% लाई ६ महिनासम्म पूर्ण स्तनपान गरिन्छ । साथै ९४% शिशुले जन्मेको २ वर्षसम्म स्तनपान गरेको तथ्याङ्कले देखाएको छ ।

६ महिनासम्म आमाको दूधमात्र खुवाइ उचित पूरक आहार पाएमा २०% सम्म बाल मृत्युदर घटाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईले बताउनुभयो । उहाँले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने, सुरक्षित एवं सजिलै उपलब्ध हुने सर्वोत्तम पौष्टिक आहार दूध बाल मृत्युको दुष्चक्र रोक्न समेत महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइएको छ ।

यसै विषयमा काभ्रेपलाञ्चोक जिल्लामा समेत यस वर्षको सप्ताह सम्पन्न हुँदै गर्दा पोषण र स्तनपानको महत्व तथा हालको अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

स्तनपान कक्ष बनाउनु सबैको दायित्व र जिम्मेवारी भएको बताउँदै जिसस प्रमुख दीपक कुमार गौतमले भन्नुभयो, ‘शिशु, आमा र पुरुषलाई समेत प्रभाव पार्ने भएकाले शिशुलाई कार्यस्थलमै सौहार्दपूर्ण ढंगले स्तनपान गराउन मिल्ने प्रबन्ध गर्नुपर्छ ।’

स्तनपानमैत्री कार्यालय बनाउने विषयमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले प्रशासन कार्यालयमा महिला बालबालिका विश्राम तथा स्तनपान कक्ष स्थापना गरिएको तर महिलाले कहिल्यै पनि त्यहाँ बसेर स्तनपान नगराएको बताउनुभयो ।

कार्यक्रममा प्रस्तुति दिनुहुँदै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईले पोषण र स्तनपानको महत्वमा प्रस्तुति दिनुभएको थियो ।

डा. सेढाईले शिशु गर्भमा आएदेखि उसका सुनौला हजार दिनमा पोषणको विशेष महत्व रहने बताउनुभयो । उक्त हजार दिनमा शिशुको ८०% बौद्धिक विकास भइसक्ने बताउनुभयो । उहाँले शिशुको ३०% बौद्धिक विकास गर्भमा, २५% एक वर्षभित्र, २५% दुई वर्षभित्र, १०% पाँच वर्ष र बाँकी १०% अर्को पाँचवर्ष भित्र हुने जानकारी दिनुभयो ।

विश्व पोषण प्रतिवेदन २०१६ अनुसार संसारका ३ जना व्यक्तिमा १ जना कुपोषित हुने गरेको पाइएको छ । पोषणले बालकको बौद्धिक क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।

पोषण नपुग्दा बच्चाको मृत्यु ५ देखि २० गुणासम्म बढ्ने देखिएको छ भने अधिक पोषणले समेत नसर्ने रोगहरु मधुमेह, दम, क्यान्सर रोगको संक्रमण हुन सक्ने देखिएको डा. सेढाइले जानकारी दिनुभयो ।

कुपोषणले दिगो विकासमा प्रभाव पार्ने भएकाले नेपालले यसमा मिहिनेत गर्नुपर्ने डा. सेढाईको भनाई छ । उहाँले बच्चालाई जन्मेको ६ महिनासम्म आमाको exclusive breastfeeding आवश्यक हुने बताउनुभयो ।

कार्यक्रममा धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयमा कार्यरत डा. सिर्जना डंगोलले बच्चाहरुलाई स्तनपान गराउँदा बाबु आमालाई समेत फाइदा हुने बताउनुभयो ।

नेपालमा समग्रमा गर्भावस्थामा चार वा बढी पटक गर्भजाँच सेवा लिने महिलाहरु बढेको पाइएको छ । कर्णाली प्रदेशमा र मधेश प्रदेशमा समेत क्रमशः ७९% र ६८.४% पुगेको पाईएको छ । बागमती प्रदेशमा ८८.८% रहेको छ ।

दुधदानीबाट दुध खुवाउने सबैभन्दा बढी बागमती प्रदेशमा ४३% रहेका छन् भने कर्णाली प्रदेशमा ११% ले मात्र दुधदानी मार्फत दूध पिलाउँछन् ।

बोत्तल दूध खुवाउँदा आमा शिशुको शारीरिक एवं बौद्धिक ह्रास हुनुको साथै राष्ट्रलाई पनि आर्थिक रुपमा समेत ठुलो घाटा हुने तथ्य देखिएको छ ।

शिक्षित नागरिक बढ्नु तर स्तनपानको दर घट्दै जानु साझा चुनौतीको विषय भएको छ । स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बाशय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.