सीडीएमए सेवा बन्द भएसँगै फोरजी अपग्रेड गर्ने ग्राहकहरुलाई टेलिकमको आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुलाई फोरजी (एलटीई) नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराएको छ । प्याकेज आज (२०८० भाद्र १) देखि लागु गरेको जनाएको छ ।

दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमए लगायत वायरलेससेवाका विभिन्न प्रविधिहरु सबै जीएसएम अन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । यस कारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ताहरु घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ ।

प्रविधिको विकास क्रमअनुसार विश्वव्यापी रुपमाफोरजी (एलटीई)को प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्था छ । नेपाल टेलिकमले प्रदान गरेको सीडीएमए सेवाका ग्राहकहरु समेत फोरजी÷एलटीईमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसै अनुसार कभरेज र सेवा समेत विस्तार गरिरहेको टेलिकमले जनाएको छ ।

सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नु हुनेछ । ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम मध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिकालागि रु. ५,९९९ र वार्षिक अवधिका लागि रु. १०,४९९ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिकालागि रु. ४,९९९ र वार्षिक अवधिका लागि रु. ९,४९९ हुनेछ ।

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ८,९९९ र वार्षिक अवधिका लागि रु. १६,४९९ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७,९९९ र वार्षिक अवधिका लागि रु. १५,४९९ हुनेछ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीई समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रति महिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथावार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसरी उपलब्धहुने १० जीबीवा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि रु. ५० मा २४ घण्टा समयावधि सम्म चलाउनमिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले पहिले देखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ । यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ५० मिनेट अफ–नेट भ्वाइस कलगर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रविधिको विकाससँगै नयाँप्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको टेलिकमले जनाएको छ । यस अनुसार नेपाल टेलिकमले गत २०८० असार मसान्त देखि लागु हुने गरी सीडीएमए सेवा बन्द गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.