बनेपा महोत्सव-२०८० हुँदै

बनेपा । नेपाली महान चाड दशैं र तिहारको पुर्वसन्ध्यामा बनेपा महोत्सव- २०८० हुने भएको छ । काभ्रेपलाञ्चोकको व्यापारिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक नगरी बनेपामा महोत्सव आयोजना गर्न लागिएको हो ।

बनेपा ब्वाईज क्लब (बि.बि.सी)को आयोजनामा हुने मेलामा कृषि, धार्मिक, सांस्कृतिक, औधोगिक, हस्तकलालाई प्रवर्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु, उद्योग र व्यापारिक प्रबर्धन तथा एवं प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बनेपा ब्वाईज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिनुभयो ।

महोत्सव असोज १९ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । १६ दिनसम्म चल्ने महोत्सवमा कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी ब्यापारिक स्टल रहनेछन् । त्यस्तै स्थानीय वस्तुको स्टललाई विशेष छुट दिइने आयोजकले जनाएको छ ।

 

स्थानीय कृषि जन्य स्टललाई महोत्सव अवधिभर ३ दिनसम्म निःशुल्क स्टल उपलब्ध गराइने र काभ्रेका व्यवसायीलाई १५% छुट दिइने बनेपा ब्वाईज क्लबले जनाएको छ ।  ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नारासहित महोत्सव बनेपाको उग्रेश्वर मन्दिर परिसरमा हुने आयोजले जानकारी दिएका छन् ।

महोत्सवमा दैनिक राष्ट्रिय स्तरको कलाकार सम्मिलित गरि सांस्कृतिक कार्यक्रम गरिने, महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र बनेपा सम्बन्धी चित्रकला  प्रतियोगिता समेत सञ्चालन गरिने बिबिसी क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा सम्पन्न हुने मेलाको शुभारम्भ स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा एवं मौलिक नाचसहित आरम्भ गरिने बिबिसीका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महसंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय कला, वस्तुको प्रवर्धनलाई ज्यादा प्राथमिकता दिइनुपर्ने बताउनुभयो । त्यस्तै पत्रकार मोतिराम तिमल्सिनाले बनेपामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक स्थलको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । मेलामा १३ वटै स्थानीय तहलाई सहभागि गराउदा थोरै वस्तुहरू हुँदा पनि प्रदर्शन धेरै हुने बताउनुभयो ।

महोत्सवलाई व्यसायीहरूले गुणस्तरहिन, मिति नाघेका सामग्री समेत बेचबिखन गर्ने सम्भावना हुँदा त्यसको नियन्त्रणका लागि आयोजक जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पत्रकार तिमल्सिनाले जोड दिनुभयो ।

बनेपा महोत्सव-२०७६ पछि क्लबले २०८० मा महोत्सव गर्न लागेको चौथो संस्करण हो । महोत्सवको प्रमुख सल्लाहकारमा राम राज जोशी, मुख्य संयोजकमा पारस मणि कायस्थ, संघ संस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, प्रशासन व्यवस्थापन संयोजकमा राज तिमल्सिना रहेका छन् । खेलकूद प्रतियोगिता संयोजकमा किशोर वरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगिताको संयोजकमा नरेशराज कायस्थ फुटबल प्रतियोगिता संयोजकमा राजु लामा, गायन प्रतियोगिता संयोजकमा रविनसन श्रेष्ठ, नृत्य प्रतियोगिता संयोजकमा प्रताप हुमागाईलाई नियुक्ति गरिएको छ ।

आवश्यकता अनुसार थप संयोजकहरु नियुक्त गरी उप-समितिहरु गठन गरिने र मेलालाई सभ्य एवं भव्य ढंगले सम्पन्न गर्नका लागि क्लब लागिपर्ने बताइएको छ ।

महोत्सवबाट उठेको रकम खेलकुदको विकास र समाजसेवामा लगाउने क्लबले जनाएको छ । महोत्सव व्यवस्थित र आकर्षक ढंगले गरिने आयोजक बिबिसी क्लबले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.