बेथानचोकका किसानलाई मिनी टिलर वितरण

ढुंखर्क । बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो ।

किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो ।  उहाँले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै लैजानु पर्ने बताउनुभयो । उहाँले कृषिमा नयाँ नयाँ प्रविधिहरु भित्र्याई समय र लागतको बचतसँगै उत्पादन बढाउन सके किसानको जीवनस्तर सुध्रिने बताउनु भयो ।

कृषि क्षेत्रमा नयाँ प्रविधि, कृषि यान्त्रिकरण तथा आधुनिकीकरण प्रणालीमाफर्त कृषि अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणमा जोड दिन जरुरी रहेकोले गाउँपालिकाले यसमा दत्तचित्त भएर काम गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले कृषि क्षेत्रमा वितरण भएको अनुदान सदुपयोग गरी वास्तविक किसानहरुलाई पहिचान गरी यान्त्रिकीकरणको प्रयोग बढाउन सके कृषिमा आधुनिकिकरण हुने विस्वास व्यक्त गर्नुभयो ।

बजारमुखी उत्पादन बढाई कृषिलाई व्यवसायका रुपमा बढाउँदै निर्वामुखी परम्परागत कृषिलाई विस्थापित गरिदै लैजानु पर्ने उपाध्यक्ष राणाको भनाई छ । आधा रकम गाउँपालिका र आधा रकम किसानले तिर्ने प्रति मिनिटिरको मुल्य ३७ हजार ५ सय भएको गाउँपकालिकाले जनाएको छ ।

कुल १ सय १९ मिली टिलर बाँडने कार्यक्रम रहेको र बाँकी वडाहरुमा पनि ती मिनी टिलर बाड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रीकरण प्रयोग बढ्दै गएको छ ।

मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषकहरु आत्मनिर्भर भएको गाउँपालिकाले जनाएको छ । किसानहरुबाटै माग भइ आए बमोजिम मिनी टिलर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.