बुढाथोकी हत्यामा संलग्न प्रहरी नियन्त्रणमा

बनेपा । भदौ १२ गते बेथानचोक गाउँपालिका–२ ढोलखोलामा वेवारिसे अवस्थामा एउटा युवाको शव ढोलखोलामा भटिएको थियो । मंगलबार भेटिएको युवाको शव एटिम कार्डको सहयोगमा प्रहरीले पत्ता लगायो । मृतक दोलखा मेलुङ स्थायी घर भएर हाल काठमाडौ काँडाघारी बस्ने २८ बर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भयो । शवको अवस्था हेर्दा मृत्यु अप्राकृतिक देखिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

हत्या आशंकामा प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडि बढाएसँगै घटनाको २ दिन अगाडि भदौ १० गते अन्य ३ जनासँग बुढाथोकी बेथानचोक ढुंखर्क बजारमा देखिएका थिए । साथै भदौ ११ गते अन्य एक जनासँग मृतक देखिएका थिए । प्राविधिक विश्लेषणबाट प्रहरीले मृतकसँग सँगै देखिएका दोलखा सैलुङ–८ का सुजन उप्रेती रहेको खुल्न आएसँगै सुजनलाई प्रहरी वृत्त लैनचौरको सहयोगमा बनेपा प्रहरीले भाद्र १३ गते पक्राऊ गरि नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रारम्भिक सोधपुछ पश्चात निजहरु गाँजा खरिद गर्नका लागि बेथानचोक गएको र तिर्थराज तिमल्सिनाको घरमा बसेको खुलेको थियो । तत्पश्चात प्रहरीले तिमल्सिनाको घरमा खानतलासी गर्दा उक्त घरको कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित गाँजा जस्तो देखिने वस्तु ९ किलोग्रामभन्दा ज्यादा देखिएसँगै प्रहरीले घरबेटी तिर्थराज तिमल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
अभियुक्तले बुढाथोकीको मृत्युमा आफनो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । यससँगै प्रहरीले भदौ १५ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको बनेपा प्रहरीले जनाएको छ । त्यसैगरि बेथानचोकका घरबेटी तिर्थराज तिमल्सिनालाई लागु औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको र घटना घट्नुअघि भदौ १० गते निज मृतकसँग देखिएका थप दुई जना व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएर घटनामा उनीहरुको संलग्नता सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.