गहना लुटपाटमा संलग्न पक्राउ

बनेपा । सुनका गहना लुटपाट गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नंं. ८ की ४८ वर्षिय तुलसा बञ्जारा घरनजिकै बारीमा काटिएको घाँसको भारी बोकी घर फर्किने क्रममा सुनका गहनाहरु डकैती भएको थियो । प्रहरीका अनुसार बञ्जारालाई अपरिचित २४/२५ वर्षका जस्ता देखिने लुटेराहरुको समूहले मुख थुनी खुकुरी देखाएर कानमा लगाएका सुनका रिङ लुटेर भागेको हो ।

त्यस्तै, धुलिखेल नगरपालिका वडा नं.१० की ३६ वर्षिय अनिता थापा आफ्नो माइती पनौतीबाट घर फर्किने क्रममा लुटेराहरुको समूहले खुकुरी देखाई ज्यान मार्ने धम्की दिई सुनको गहना लुटेको थियो । घटनाको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय बनेपाको टोली र प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले गहना डकैती गर्नेहरुलाई पक्राउ गरेको थियो । दुवै लुटपाट एकै समूहले गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । प्रहरी नायब उपरिक्षक सुवेदीका अनुसार पक्राउ पर्नेमा तेमाल गाउँपालिका वडा नं.२ सस्र्यौखर्क घर भई हाल पनौती नगरपालिका वडा नं.४ मा बस्ने २७ वर्षिय आकाश दोङ र खानीखोला गाउँपालिका वडा नं.१ फलामेटारका २७ वर्षिय श्रीराम लोप्चन रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले तिलहरि १ थान, टपसहितको झुम्का २ थान, झुम्का अड्याउने सिक्री एक थान र खुकुरी १ थान बरामद गरेको हो । गहना लुटपाट गरि विक्री गरेको अभियोगमा पनौती नगरपालिका ४ ठाडोबाटोमा बस्दै आएकी संगिता तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । लुटपाटको सुन खरिद तथा विक्री गर्ने कार्यमा सहयोग गरेको अभियोगमा थप अनुसन्धानको लागि तामाङलाई पक्राउ गरेको इप्रका बनेपा प्रमुख प्र.ना.उ.सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद २० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काभ्रेवाट म्याद थप भइ विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.