पनौतीमा लगानीकर्ता सचेतना कार्यक्रम

पनौती । धितोपत्र नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ)को आह्वानमा नेपालमा पनि लगानीकर्तालाई सशक्तीकरण गर्ने साताव्यापी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै सन्दर्भमा मुलुककै पहिलो संस्थागत ब्रोकरका रुपमा परिचित नागरिक स्टक डिलर कम्पनी लिमिटेडले रोटरी क्लब अफ पनौती र पनौती उद्योग वाणिज्य संघको सहकार्यमा पनौतीमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
 
पनौतीका नगर प्रमुख रामशरण भण्डारीले उद्घाटन गर्नु भएको अन्तरक्रियामा सहभागीहरुलाई धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सेबोनका सूचना तथा गतिविधिहरु, बजारसम्बन्धी लगानीबजारका विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, वरिष्ठ अधिकृत कृष्णजङ्ग थापा, शेयर विश्लेषक तथा प्रशिक्षक बसन्त पाण्डे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना र पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सही जानकारीको अभावमा लगानीकर्ताहरु अलमलमा रहेकाले यस्ता सचेतना कार्यक्रमहरु नियमित सञ्चालन भइ रहनु पर्नेमा जोड दिएका थिए ।
 
आईओएससीओको आह्वानमा अक्टोबरको २ देखि ८ तारिख विश्व लगानीकर्ता सप्ताह र रोटरी इन्टरनेशनलको आह्वानमा अक्टोबर महिनालाई आर्थिक तथा सामुदायिक विकास कार्यक्रमहरु मनाउने गरिएको छ । दुबै अन्तर्राष्ट्रिय संस्थाहरुको आह्वानमा विश्व लगानीकर्ता सप्ताह २०२३ मनाइएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) सन् २०१६ जुलाईमा (आईओएससीओ) को एशोसिएट सदस्य भएपश्चात सन् २०१७ देखि सेबोनले उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको हो ।
 
कार्यक्रममा सेबोनका उप–कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हित सुरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले धितोपत्र बजारसम्बन्धी सूचना तथा गतिविधिहरू विभिन्न माध्यमबाट प्रवाह गर्दै आइरहेको बताउँदै बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह महत्वपूर्ण रहेको बताए । धितोपत्रमा गरिने लगानीको जोखिम लगानीकर्ता स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नै स्वविवेकमा लगानी सम्बन्धी निर्णय लिन उनले आग्रह गरे । साथै धितोपत्रमा लगानी सम्बन्धी जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी (ब्रोकर), धितोपत्र विनिमय बजार (नेप्से) तथा धितोपत्र बोर्ड (सेबोन) मा सम्पर्क राख्नसमेत उनको थप अनुरोध थियो ।
 
कार्यक्रम पनौती क्षेत्रका लगानीकर्ताहरु, सहकारीकर्मीहरु, इन्द्रेश्वर, तेजगंगा र कुशादेबी क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु, रोटरी क्लब अफ पनौती तथा रोटर्याक्ट क्लब पनौतीका सदस्यहरु, पनोती कम्युनिटी होमस्टेका सदस्यहरु एवं तीनवटै क्याम्पसका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 
यतिखेर सेबोनका अगुवाइमा नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ संस्था, स्टक डिलर तथा पीईभीसी कोष व्यवस्थापकसमेतको सहभागितामा साताव्यापी रूपमा लगानी सचेतना कार्यक्रमहरु भइरहेका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंले पनि सबै जिल्ला नगर उद्योग वाणिज्य संघमार्फत लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गर्न सेबोनसँग सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.