महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

काठमाडौं । शिक्षा बिकास तथा समन्वय ईकाई काठमाडौंको आयोजना एवं काठमाडौं महानगर शिक्षा बिभागको संयोजनमा महानगर भित्रका ७९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा सामुदायिक बिद्यालय सुधारका प्रयास, नीति तथा कार्यक्रम र भावी कार्यदिशा बिषय एक दिने गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रमा काठमाडौं महानगर पालिका शिक्षा बिभागका बिभागिय प्रमुख सीता राम कोइरालाले काठमाडौं महानगर पालिकाले सामुदायिक बिद्यालयलयको बृहत्तर सुधारका लागि बिद्यालय गौरवका योजना र सुन्दर बिद्यालय कार्यक्रम लागू गरिसकिएको बताउनु भयो।

प्रधानाध्यापकहरुलाई प्रशिक्षण दिदै शिक्षा अधिकारी कोइरालाले कार्यक्रमको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी प्रअहरुको भएकाले प्रअहरुको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो। “गरि खाने शिक्षा महानगरको ईच्छा” नारालाई सार्थक बनाउन गौरवका योजना ३ वर्षे र सुन्दर बिद्यालय कार्यक्रम १ वर्ष भित्र पूरा गर्ने लक्ष्य महानगरले लिएको बताउनुभयो।

हाल महानगरका सामुदायिक बिद्यालयमा ३५ हजार बिद्यार्थीहरु अध्यनरत रहेकोमा बि. स.२०८४ सम्ममा महानगरका सामुदायिक बिद्यालयमा सो संख्या ९० हजार पुर्याउने र त्यसका लागि भौतिक सुधार देखि आवश्यक सबै पुर्वाधार महानगरले बनाइसक्ने बताउनु भयो।

महानगरको नयाँ सोच अन्तरगत सुन्दर बिद्यालय, शिक्षामा सीप, सामुदायिक सिकाई केन्द्रको क्षमता बिकास, सूचना तथा संचार प्रविधिको बिकास र कार्यान्वयन,साक्षर महानगर साक्षर काठमाडौं सुनौलो अवकाश कार्यक्रम लागू गरिसकिएको शिक्षा अधिकारी कोइरालाले जानकारी दिनुभयो।

शिक्षामा सुधारको थालनी अन्तरगत स्रोतकेन्द्रगत प्राबिधिक सहयोग र अनुगमन,मोबाइल शिक्षकको ब्यवस्था, बिद्यार्थी अभिलेख ब्यवस्थापन तथा निरन्तर मुल्यांकन, दरवन्दी मिलान, कक्षा कोठामा तालिमको प्रयोग, बिद्यार्थी सरसफाइ एवं परिचालन, मुल्यांकन प्रणालीमा सुधार लगायत धेरै कार्यहरु तदारुकताका साथ लागू गरिने बताउनु भयो। शिक्षा नीति अन्तरगत स्थानीय शिक्षा योजना, सुशासन पारदर्शीता, उत्तरदायित्व र उत्प्रेरणात्मक कार्यक्रम अगाडि बढाइने शिक्षा अधिकारी कोइराले प्र.अ.हरु माझ बताउनु भयो।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पौडेलले सामुदायिक बिद्यालय सुधारका लागि काठमाडौं महानगर पालिकाले चालेका कदमलाई पुर्णता दिन सामुदायिक बिद्यालयका प्रअ, शिक्षक, बि.ब्य.स. , शिक्षक अभिभावक संघ, बिद्यार्थी, अभिभावक, समुदाय सबै मिलेर सामुदायिक बिद्यालयको गुणस्तर वृद्धिका लागि लागि पर्नुपर्ने बताउनु भयो। राम्रा बिद्यालयका अभ्यासहरुका बारेमा प्रकाश पार्दै ईकाई प्रमुख पौडेलले सामुदायिक बिद्यालयका प्रअहरुले आफू मालिक नभई सेवक भएर काम गर्नुपर्ने बताउनु भयो।

काठमाडौंका उत्कृष्ट सामुदायिक बिद्यालय मध्य बाट बिश्व निकेतन मा. वि. त्रिपुरेश्वरका प्रधानाध्यापक हेडम्ब राज कडेल र संस्थागत बिद्यालयबाट काव्य स्कुल नयाँ बानेश्वरका प्रधानाध्यापक नवराज बास्कोटाले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयले अवलम्बन गरेका बिषयहरुमा प्र.अ.हरुमाझ प्रकाश पार्नुभएको थियो।

गोष्ठीमा शिक्षा बिकास तथा समन्वय ईकाइ शाखा प्रमुख युवराज दाहाल, काठमाडौं महानगरपालिका शिक्षा बिभागका शिक्षा अधिकृत ईन्द्र दाहाल, स्रोत ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रम कन्या मा.वि. क्षेत्रपाटीमा सम्पन्न भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.