लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया

मकवानपुर । मकवानपुरकाे हेटौडामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले सरोकारवालाको उपस्थितिमा अन्तरक्रियाको आयोजना गरेको हो । सहभागीले लैंगिक हिंसा न्यूनीकरण गर्न प्रहरीले नियमित अन्तरक्रिया र समीक्षा गर्नुपर्ने, महिला सेलमा टोलफ्रि नम्बरको व्यवस्था गर्नुपर्ने, प्रदेश प्रहरीले मातहतका प्रहरी इकाईको निगरानी गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य गोपिनी सापकोटाले आफ्नै परिवारमा लैंगिक हिंसाको घटना भइरहेको र पीडकलाई कारवाही गर्न नसकिएको गुनासो गरिन् । हेटौँडा–९ की वडा सदस्य कमला पौडेलले सुधार केन्द्रमा समेत दुर्व्यसनीहरुको सुधार हुन नसकेको बताइन् । दुर्व्यसनले  लैंगिक हिंसाका घटना भइरहेको समेत उनले बताइन् । गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले हिंसाका घटना बढेको हो कि भइरहेका घटनाका विषयमा उजुरी र कारवाही हुने क्रम बढेको भनी अध्ययन गर्नु आवश्यक रहेको बताइन् ।

सिविन बालहेल्पलाइन हेटौँडाकी अधिकृत सम्झना अधिकारीले हेटौँडा–१५ की दुई किशोरी भारतमा बेचिएर फर्किएपछि प्रहरीमा उजुरी गरे पनि प्रहरीले गम्भीररुपमा अनुसन्धान नगरेको गुनासो गरिन् । प्रतिवादीको नाम यकिन नभएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नै नमानेको उनले गुनासो गरेकी थिइन् । समाजमा हुने चोरी, लुटपाट, लागुऔषध दुर्व्यसन, यौन दुर्व्यवहार तथा जबर्जस्तीकरणीजस्ता अपराध एक अर्कासँग सम्बन्धित हुने भएकोले सबैखाले समस्याकाे समाधानमा प्रहरीले ध्यान दिनुपर्ने अधिकारी सुझाव समेत दिइन् ।

सामुदायिक सेवा केन्द्र थानाभयाङका अध्यक्ष देवकुमार श्रेष्ठले सामुदायिक सेवा केन्द्रका लागि बजेट अभाव भएको गुनासो व्यक्त गरे । प्रहरी कार्यालयबाट सचेतनामूलक काम गर्न भनेर पत्र आउँछ तर, बजेट अभावमा काम गर्न गाह्रो भइरहेको उनले बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरीले अपराध नियन्त्रणमा गर्दै आएको कामको विषयमा जानकारी गराएका थिए । आपराधिक क्रियाकलापमा सबैभन्दा बढी साइवर अपराधका घटना भइरहेको उनले बताए । पछिल्लो समय बैंकिङ कसुरका मुद्दा पनि प्रहरीमा उल्लेख्य मात्रामा रहेको एसएसपी रेग्मीले जानकारी दिएका थिए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरीले विशिष्ट प्रहरी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै प्रहरीले हिंसा नियन्त्रण गर्न निरन्तर काम गरिरहेको बताइन् । हिंसाका घटनामा पीडितको उपचार, मनोसामाजिक परामर्श र परिवारमा पुनस्र्थापनाका लागि अस्पताल आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र प्रभावकारी स्थान बन्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.